जनकपुरधाम, ४ असारः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।
प्रदेशस्तरीय सडक सुरक्षा कार्यशालाको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले सडक सुरक्षालाई प्राथाकितामा राखेर सडक दुर्घटनाबाट हुने धनजनको क्षति कम गर्न प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।
पर्याप्त बजेट, जनशक्ति र अधिकार नहँुदा अपेक्षित परिणाम हासिल गर्न चुनौती रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचना नहँुदा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहको काम प्रभावकारी रूपमा गर्न कठिनाइ भइरहेको बताउनुभयो ।
सवारी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई कम गर्न सचेतना जगाउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले सडक पूर्वाधारमा सुधारसँगै ट्राफिक व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।
संविधानले प्रहरी कर्मचारी प्रदेशलाई दिए पनि सङ्घीय सरकारबाट हस्तान्तरण हुन नसक्दा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले संविधानप्रदत्त प्रदेशको अधिकार हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी ज्ञानलाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिनुहुँदै विद्यालयस्तरमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन हुनु सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीलगायतले सडक पूर्वाधारको सुधारसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पर्याप्त बजेट, जनशक्ति आवश्यक रहेको आँैल्याउनुभयो ।