म्याग्दी, ४ कात्तिकः म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाउनुभएको छ ।
सोही वडाका अध्यक्षसमेत रहनुभएका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाउनुभएको हो । आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो ।
खत्रीबाहेक हालसम्म ११ आँै पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपूजा व्यवस्थापन समितिका सदस्य दिनेश केसीले जानकारी दिनुभयो ।
विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुभएको थिएन् । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । विसं २०८० देखि यस वर्षसम्म लगातार विजयी हुनुभएको छ ।
निरन्तरको अभ्यास, शारिरिक व्यायम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो । खत्रीलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुुनलगायतले फेता गुटाएर सम्मान गरेका थिए ।
स्थानीयवासीले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित ताकमकोत परिक्रमा गराएका थिए । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । बाइसे चौबिसे राजाले हरेक वर्षको वडादशैको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेसम्म पनि निरन्तरता दिइएको छ ।
ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैंअघिदेखिको शोख भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ ।