काठमाडौँ, ४ असार : काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव आयोजना गर्न स्थानीय व्यवस्थापनका लागि आठवटा संस्थालाई छनोट गरेको छ । त्यस्तै, महोत्सवकै लागि अन्य तीनवटा संस्था वैकल्पिक सूचीमा परेको कामपाले जानकारी दिएको छ ।
सम्पदा तथा पर्यटन विभागले आह्वान गरेको सूचनाबाट पेस भएका २० वटा प्रस्तावको मूल्याङ्कनबाट व्यवस्थापनको काम गर्ने संस्था छानिएको विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।
प्रमुख राईका अनुसार कामपाले यही असार ५ गतेदेखि सञ्चालन गर्न लागेको महोत्सवमा स्थान चयन, क्रियाकलाप प्रस्तावकबाट माग गरिएको थियो । यसका आधारमा प्रस्तावकले पेस गरेका क्रियाकलाप र क्रियाकलाप सञ्चालन गर्दा लाग्ने खर्चलगायत सूचकमा प्रदान गरिएको अङ्क भारका आधारमा संस्था चयन भएका हुन् ।
महोत्सवमा प्रदर्शन गरिने लघुचलचित्र, चलचित्र प्रदर्शनका लागि एलइडी तथा साउन्ड सिस्टम, क्युरेटरलगायत सहयोग महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराउनेछ । महोत्सवको व्यवस्थापन स्थानीय संस्थाहरूले गर्नेछन् ।
महोत्सव असार ५ गते खुलामञ्चबाट सुरु हुनेछ । यो कार्यक्रमको व्यवस्थापन इकोज इन द भ्यालीले गर्नेछ । ६ गते असनमा हुने कार्यक्रमको व्यवस्थापन नीलः सांस्कृतिक क्लबले गर्नेछ ।
असार महिनाभरि हरेक शुक्रबार र शनिबार आयोजना हुनेछ । यसअन्तर्गत येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडकखण्डमा, नेपाल भाषा स्यनेकने फाउन्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोलमा, लुजः नेवाः सांस्कृतिक पुचःले सुन्धारामा, मैतीदेवी युनाइटेड क्लबले मैतीदेवी मन्दिर खुलाचौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् ।
महोत्सवमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योगलगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् । कामपाले टोलटोलमा फिल्म महोत्सव सञ्चालन तथा व्यवस्थापन गर्न २० वटा प्रस्ताव परेकामा आठ प्रस्ताव स्वीकृत र तीनवटा वैकल्पिक सूचीमा राखेको छ ।
असार ५ गतेदेखि २६ गतेसम्म प्रत्येक शुक्रबार र शनिबार टोलटोलमा फिल्म महोत्सवको आयोजना गर्न लागेको हो । समुदायमा भएका रचनात्मक सीपलाई उद्यम र उद्योगको विकासका लागि सार्वजनिक स्थल, पार्क, डबली, चोकहरूमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योगलगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गर्न लागिएको कामपा कार्यवाहकप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
महोत्सव असार महिनामा आठ ठाउँमा आयोजना हुने कामपाले जानकारी दिएको छ ।