झापा, २७ कात्तिक : आगामी मंसिरको दोस्रो साता हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोट खेलहरू झापामा सुरु भएका छन् । यस अन्तर्गत प्रदेशस्तरीय महिला क्रिकेट टिमको छनोट प्रतियोगिता आजबाट झापामा सञ्चालन भएको हो । भद्रपुर नगरपालिका वडा नं. ८ स्थित मेची क्याम्पस खेलमैदानमा क्रिक्रेट प्रतियोगिता भइरहेको छ ।
छनोट प्रतियोगितामा झापा, इलाम, मोरङ र उदयपुर गरी चार जिल्लाका टिमहरूको सहभागिता रहेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिनुभयो । छनोट चरणको पहिलो खेल आज मोरङ र उदयपुरबीच तथा दोस्रो खेल झापा र इलामबीच भएको थियो । प्रतियोगिताको छनोट प्रक्रिया शनिबार सम्पन्न हुनेछ ।
झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापाका अनुसार यस छनोट प्रतियोगिताबाट १८ जना उत्कृष्ट खेलाडी छनोट गरिनेछन् । छनोट भएका खेलाडीले कर्णाली प्रदेशको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङका अनुसार झापामा क्रिकेट र हक्कीसहित आर्चरी, जुडो र आईटीएफ तेक्वान्दो गरी पाँच विधाका खेल छनोट प्रतियोगिता सञ्चालन हुँदैछन् ।
यस अन्तर्गत हक्की खेलको छनोट प्रतियोगिता भद्रपुर–९ स्थित पुहाँतु ज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कँडेलले बताउनुभयो ।