कात्तिक २७, २०८३ शुक्रबार

फाइल फाेटाे

जनकपुर, २७ कात्तिकः कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि जनकपुरधाममा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी भएका छन् । ‘खेली मधेस, जिती मधेस’ नारासहित सञ्चालन भइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।

मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुका अनुसार १०औँ राष्ट्रिय खेलकुदमा ३२ विधाका खेल समावेश गरिएकामा मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने तयारी गरेको छ । प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, बुद्धिचाल, उसु, हक्कीलगायतका खेल समावेश छन् ।

प्रदेशमा खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्यसचिव कानुले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको बजेट कटौतीप्रति चिन्ता व्यक्त गर्दै खेलाडीको क्षमता अभिवृद्धि र आवश्यक खेल पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो । खेलकुद क्षेत्रमा पर्याप्त लगानी हुन नसके खेलाडी उत्पादन, उनीहरूको क्षमता विकास तथा राष्ट्रियस्तरमा प्रदेशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा चुनौती थपिने उहाँको भनाइ थियो ।