कात्तिक ५, २०८३ बिहिबार

लागोस, ५ कात्तिक (रासस÷एएफपी)ः नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिनुभएको छ ।

    बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उहाँले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै यसलाई महादेशको पश्चिमी क्षेत्रमा देखिएको पहिलो घटना भएको बताउनुभयो । 
    
    नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । ती महिला कूटनीतिज्ञ रहेको र हालै युगान्डाको भ्रमण गरेर फर्किनुभएको थियो । यही प्रजातिको भाइरसका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा पनि ठूलो प्रकोप फैलिएको छ ।

    अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया यस प्रकोपबाट प्रभावित हुने चौथो अफ्रिकी मुलुक बनेको छ । पूर्वी अफ्रिकाको केन्यामा पनि अक्टोबर ६ यता नौ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    पछिल्लो घटनाले सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको विनाशकारी इबोला प्रकोपको स्मरण गराएको छ । सन् २०१३ को अन्त्यदेखि २०१६ सम्म फैलिएको उक्त प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    यद्यपि, सन् २०१४ मा इबोला प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिएको अनुभवका कारण नाइजेरियाले यसपटक पनि प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार डीआर कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ । मे महिनाको मध्यदेखि त्यहाँ नौ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने चार हजार ३८१ जनाको मृत्यु भइसकेको छ ।

    इबोला भाइरसबाट हुने रोग गम्भीर र कहिलेकाहीँ घातक हुन सक्छ । पछिल्लो संक्रमण विभिन्न देशमा फैलिन थालेपछि स्वास्थ्य अधिकारीहरूलाई यसको थप विस्तार रोक्न चुनौती थपिएको छ ।