कात्तिक ५, २०८३ बिहिबार

लन्डन, ५ कात्तिक: बेलायतले रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रको सुदूर उत्तरमा रूसको सैन्य गतिविधिको सामना गर्न आवश्यक नौसैनिक क्षमतामा ‘स्पष्ट खाडल’ रहेको सांसदहरूले चेतावनी दिएका छन् ।

    बिहीबार सार्वजनिक गरिएको संसदीय प्रतिवेदनअनुसार, आर्कटिक र उत्तरी एट्लान्टिकका केही भाग समेट्ने ‘हाई नर्थ’ क्षेत्र बेलायतको रक्षा तथा सुरक्षाका लागि झन् महत्वपूर्ण बन्दै गएको छ । जलवायु परिवर्तनका कारण बरफ पग्लिँदै जाँदा यस क्षेत्रमा पहुँच सहज भएको छ । रूसले यही क्षेत्रमा आफ्ना आणविक पनडुब्बीहरू तैनाथ गर्दै आएको छ ।

    यस क्षेत्रबाट रूसी सैन्य गतिविधि बेलायती जलक्षेत्रसम्म विस्तार हुन सक्ने भन्दै सांसदहरूले समुद्रमुनिका ऊर्जा पाइपलाइन र डेटा केबलजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पु¥याउने ‘हाइब्रिड खतराहरू’ उल्लेख्य रूपमा बढेको बताएका छन् ।

    बेलायती अखबार द डेली टेलिग्राफ ले बिहीबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार, ढुवानीसम्बन्धी तथ्याङ्कको अनुगमन गर्दा रूसी नागरिक माछा मार्ने ट्रलरहरू महत्वपूर्ण ट्रान्सएट्लान्टिक केबलमाथिको क्षेत्रमा सयौँ घण्टा बिताएको पाइएको छ ।

    रूसी पनडुब्बी तथा समुद्रमुनिका पूर्वाधारमा हुन सक्ने तोडफोडको सामना गर्न बेलायतसँग पर्याप्त पनडुब्बीविरोधी फ्रिगेट र उभयचर सैन्य जहाज हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर, यी क्षमतामा बेलायत कमजोर रहेको सांसदहरूको निष्कर्ष छ ।

    त्यस्तै, युद्धपोत र पनडुब्बीको उपलब्धता सीमित रहेको तथा विशेषगरी समुद्री बरफमुनि सञ्चालन गर्न सक्ने पनडुब्बीको अभाव रहेको प्रतिवेदनले औँल्याएको छ । बेलायती फ्रिगेट र आणविक पनडुब्बी पुराना हुँदै गएको तथा मर्मतसम्भारमा समस्या देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    हाइब्रिड खतराको सामना गर्न चुनौती
    
    बेलायतले उत्तरी क्षेत्र र बाल्टिक सागरमा सुरक्षा सुदृढ गर्न १० नाटो सदस्य राष्ट्र सम्मिलित गठबन्धनको नेतृत्व गरिरहेको छ । यस गठबन्धनको उद्देश्य हाइब्रिड खतराको प्रभावकारी र द्रुत रूपमा सामना गर्नु हो ।

    तर, बेलायतले प्रभावकारी नेतृत्व कायम राख्न आफ्नो नौसैनिक क्षमताको उपलब्धतामा रहेका स्पष्ट कमजोरी तत्काल सम्बोधन गर्नुपर्ने संसदीय रक्षा समितिले जनाएको छ ।

    समितिले सरकारले रक्षा खर्चको प्रभावकारिताको समीक्षा गर्नुपर्ने र सीमित स्रोतसाधन नाटोअन्तर्गतका सामूहिक सुरक्षा प्राथमिकतामा केन्द्रित गर्ने कि नगर्ने भन्ने विषयमा समेत विचार गर्नुपर्ने सुझाव दिएको छ ।

    रूसले नाटो सदस्य राष्ट्रमाथि सम्भावित आक्रमण गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बेलायती सशस्त्र बलले आफ्नो तयारीमा उल्लेख्य सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । तत्कालीन प्रधानमन्त्री केयर स्टार्मरले गत जुनमा सन् २०३० सम्ममा यस्तो जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिनुभएको थियो ।

    सांसदहरूले सन् २०३० सम्ममा नौसैनिक जहाजको उपलब्धता कसरी सुधार गर्ने भन्ने स्पष्ट योजना प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् ।

    आर्कटिक क्षेत्रमा रोयल मरीनका नियमित सैन्य अभ्यास बेलायतको महत्वपूर्ण शक्ति भए पनि त्यसले नौसैनिक जहाज र पनडुब्बीको अभाव पूर्ति गर्न नसक्ने प्रतिवेदनले चेतावनी दिएको छ ।

    अमेरिकी निर्भरतामाथि पनि प्रश्न

    अमेरिकाले युरोपबाट उल्लेख्य सङ्ख्यामा सैनिक र सैन्य उपकरण फिर्ता लैजाने चेतावनी दिइरहेका बेला बेलायतसहित युरोपेली नाटो सदस्य राष्ट्रहरू महत्वपूर्ण सैन्य क्षमताका लागि अमेरिकामाथि निर्भर रहेको विषय पनि प्रतिवेदनमा उठाइएको छ ।

    विशेषगरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा र लामो दूरीका आक्रमणसम्बन्धी क्षमतामा युरोपको अमेरिकी निर्भरता चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् ।

    यसैबीच, युरोपेली सङ्घले यसै साता आर्कटिक क्षेत्रमा निगरानी बढाउने र आइसब्रेकर जहाजको सङ्ख्या विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

    बेलायती सरकारका एक प्रवक्ताले बिहीबार देशका महत्वपूर्ण समुद्रमुनिका पूर्वाधारको सुरक्षा सुदृढ गर्न नयाँ कानुनी प्रस्ताव अघि सारिएको बताउनुभयो । प्रस्तावले समुद्री पूर्वाधारको संरक्षणसम्बन्धी करिब १४० वर्ष पुरानो कानुनलाई अद्यावधिक गर्ने लक्ष्य राखेको छ ।