कात्तिक ५, २०८३ बिहिबार

सियोल, ५ कात्तिक (रासस/सिन्ह्वा): दक्षिण कोरियाले अन्तर–कोरियाली सीमा क्षेत्रमा हुन सक्ने आकस्मिक झडप रोक्न उत्तर कोरियालाई तत्काल सञ्चार संयन्त्र स्थापना गर्न आग्रह गरेको छ ।

    दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सैन्य सीमा रेखा (एमडीएल) सम्बन्धमा दुवै पक्षबीच साझा समझदारी कायम गर्नुपर्ने र तनाव न्यूनीकरण तथा सीमा क्षेत्रको शान्तिपूर्ण व्यवस्थापनका लागि सञ्चार संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

    मन्त्रालयले विगतमा दुवै देशले एकअर्काविरुद्ध सीमावर्ती क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचारप्रसार गर्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै विगतका गल्ती नदोहो¥याउन आग्रह गरेको छ ।

    उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार, दक्षिण कोरियाको उक्त विज्ञप्ति उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिकी विभाग निर्देशक किम यो जोङको अभिव्यक्तिपछि आएको हो ।

    किम यो जोङले बुधबार उत्तर कोरियाले यसै महिना सीमा क्षेत्रमा दक्षिण कोरियाविरुद्ध मनोवैज्ञानिक दबाब सिर्जना गर्न लाउडस्पीकर प्रयोग गर्ने बताउनुभएको थियो । 

    उहाँले दक्षिण कोरियाले बुधबार कम्तीमा दुई स्थानमा लाउडस्पीकरबाट चेतावनी दिँदै गोलीसमेत चलाएको आरोप लगाउनुभएको छ । 

    किमले दक्षिण कोरियाको चेतावनीस्वरूप गरिएको गोलीबारीबाट उत्तर कोरियाको भू–भाग वा त्यहाँ तैनाथ सुरक्षाकर्मीको सुरक्षामा वास्तविक क्षति पुगेमा उत्तर कोरियाली सीमा सुरक्षाकर्मीले कुनै दया नदेखाउने चेतावनीसमेत दिनुभएको छ ।

    दुवै कोरियाबीच सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत गरिने प्रचारप्रसार र सैन्य गतिविधिलाई लिएर तनाव बढिरहेका बेला दक्षिण कोरियाको पछिल्लो आग्रह आएको हो ।