असोज ७, २०८३ बुधबार

बनेपा (काभ्रे), ७ असोजः काभ्रेका बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई लक्षित गरी अघि बढाइएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पुनर्निर्माण प्रक्रिया सुरु गरिएको छ ।

यसअघि निर्माणको अन्तिम चरणमा पुगेको आयोजना दुई वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण प्रक्रिया थालनी गरिएको हो । त्यस क्षेत्रका नागरिकलाई शुद्ध  खानेपानी पु¥याउने उद्देश्यका साथ  सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा रु २० करोड बजेट विनियोजन गरेपछि आयोजनाको पुनर्निर्माण अघि बढाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा राम लामाका अनुसार आयोजना पुनर्निर्माण कार्यका लागि यही महिनामा बोलपत्र आह्वान गर्ने तयारी छ । आयोजना पुनर्निर्माणको दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

आयोजना पुनःसञ्चालनको तयारीसँगै तीनवटै नगरपालिकाले पुरानो आर्थिक दायित्व व्यवस्थापनमा समेत चासो देखाएका छन् । बनेपा नगरपालिका प्रमुख तथा काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष शान्तिरत्न शाक्यका अनुसार स्थानीय तहको मात्र स्रोतबाट आयोजना पुनर्निर्माण सम्भव नभएपछि सङ्घीय सरकारसँग समन्वय गरिएको छ । पूर्वाधार मन्त्रालयअन्तर्गतको आयोजनाको पुनर्निर्माणका लागि रु ७९ करोडभन्दा बढीको लागत अनुमान गरिएको छ ।

मन्त्रालयबाट बोलपत्र आह्वानपछि ठेक्कामार्फत काम अघि बढ्ने र अहिले विनियोजित रु २० करोडपछि आवश्यकताअनुसार थप बजेटसमेत व्यवस्थापन हुने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।

बाढीबाट क्षति पुगेको पुरानो कार्यालय समेत पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शाक्यले बताउनुभयो । कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक, प्राविधिक तथा ठेक्का प्रक्रियाका काम अघि बढाउन सहज भएको छ । बनेपा, धुलिखेल र पनौतीलाई एउटै खानेपानी प्रणालीमा जोड्ने उद्देश्यले आयोजना अघि बढाइएको  आयोजनाबाट करिब एक लाख ४० हजार जनसङ्ख्यालाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको  छ । विभिन्न मुहानबाट करिब ७ हजार ७७३ लिटर प्रतिसेकेन्ड पानी सङ्कलन र प्रशोधन गरी वितरण गरिनेछ ।

यसअघि उक्त आयोजनाको निर्माणको समग्र भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत पुगिसकेकामा मुहान, इन्टेक, ट्याङ्की तथा मुख्य र शाखा पाइपलाइनमा क्षति पु¥याएको थियो । 

आयोजनाको पुनर्निर्माण गर्न करिब रु ७९ करोड आवश्यक पर्ने अनुमानसहित बहुवर्षीय योजना अघि बढाइएको धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जङ्गमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा विनियोजित रु २० करोडबाट पहिलो चरणको काम सुरु गरी आवश्यक रकम क्रमशः व्यवस्थापन गर्दै अघि बढने उहाँले जानकारी दिनुभयो ।

पनौती नगरप्रमुख रामशरण भण्डारीका अनुसार आयोजना तीनवटै नगरका नागरिकको साझा सरोकार भएकाले सामूहिक प्रयासमा सम्पन्न गरिने प्रतिक्रिया दिनुभयो । आयोजना दुई वर्षभित्र  सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।