काठमाडौँ, ७ असोजः राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा आज मस्र्याङ्दी वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । नगद रु एक लाख राशि, प्रमाणपत्र र दोसल्लासहित उक्त पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवं वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले नेपाली साहित्य क्षेत्रको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रकवि घिमिरे नेपाली काव्य र साहित्य क्षेत्रको सगरमाथा भएको उहाँको भनाइ थियो ।
पुरस्कृत व्यक्तित्व वरिष्ठ गीतकार रिजालले राष्ट्रकविको नाममा स्थापित पुरस्कार आफूलाई प्रदान गरेको भन्दै हार्दिक आभार व्यक्त गर्नुभयो । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि २०५३ सालमा स्थापना भएको मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले यस वर्षको राष्ट्रकविको नाममा स्थापित पुरस्कार गीतकार रिजाललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु २७ लाखको अक्षयकोष स्थापना गरिएसँगै उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित वरिष्ठ गीतकार रिजालले नारायणगोपालले गाएको चर्चित गीत ‘केही मिठो बात गर...’ जस्ता प्रख्यात गीत लेख्नुभएको थियो ।
वरिष्ठ गीतकार रिजालले नेपाली साहित्यमा पु¥याएको योगदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट यसअघि उत्कृष्ट कविको पुरस्कार प्राप्त गर्नुभएको साहित्यकार प्रा डा सनतकुमार वस्तीले जानकारी दिनुभयो । वरिष्ठ गीतकार रिजालले पहलमानसिंह स्वाँर स्मृति पुरस्कार तथा वानिरा प्रज्ञा पुरस्कारसहित दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण अधिकारीले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणका लागि लमजुङबाट काठमाडौँमा आएका साहित्कार तथा कलाकारको पहलमा स्थापना भएको प्रतिष्ठानले विगत चार वर्षदेखि राष्ट्रकविको नाममा पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो । अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति बनाएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्रा डा सनतकुमार वस्ती र दाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।