काठमाडौँ, ७ असोजः रसुवाको भोटेकोशी नदीमा गएको बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार झोलुङ्गे पुल पुनर्निर्माणपछि उक्त स्थानमा आवतजावत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले बाढी प्रभावित क्षेत्रमा पुल पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रताका साथ अघि बढाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार धादिङ, नुवाकोट र गोरखामा पर्ने अन्य १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ । जसमा कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान, केउरेनी–गहते, चिरौंदी खोला, शीतलबजार–क्युरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल समावेश छन् । अबको एक हप्ताभित्र ती पुलहरू पनि सञ्चालनमा आइसक्ने छन् ।
यसैगरी, बाढीबाट क्षति पुगेका थप सात झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ । त्यसका लागि स्टिल पाट्र्स व्यवस्थापनतर्फ पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरण खरिदका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ । त्यस्तै, बाढीबाट पूर्ण क्षति भएका ३३ वटा झोलुङ्गे पुलको नयाँ रूपमा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम तयारीमा पुगेको छ ।