असोज ७, २०८३ बुधबार

दाङ, ७ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई  अपिल गर्नुभएको छ ।

नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि  उहाँले सो आग्रह गर्नुभएको छ ।  

मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताउनुभएकाले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

नदी तथा खोलाकिनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभएको छ ।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको आग्रह छ ।

सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभएको छ ।

भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न उहाँले प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति र संस्थालाई पनि आवश्यक सावधानी अपनाउन मुख्यमन्त्री आचार्यले अनुरोध गर्नुभएको छ ।

सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सरकारको तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी अपनाई सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गर्नुभएको छ । 

यसअघि  जिल्ला प्रशासन कार्यालय दाङले पनि असोज ९ गतेदेखि ११ गतेसम्म जिल्लामा हुरीबतास, चट्याङसहित भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले सूचना जारी गर्दै  भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा दाङ जिल्ला भएर बग्ने बबई र राप्ती नदीलगायत नदी तथा खोलामा बाढी र कटानको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह  गर्नुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रका कारण देशका विभिन्न भागसँगै दाङमा पनि भारी वर्षाको सम्भावना रहेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय तह, क्षेत्रगत क्लस्टर, रेडक्रस तथा सम्बन्धित सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ । प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमबाट बच्न विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले विपद्सम्बन्धी सूचना तत्काल आदानप्रदान गर्न तथा आमसञ्चारमाध्यममार्फत विपद् सचेतना फैलाउनसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।