काठमाडौँ, २ असोजः नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय समाचार समिति परिवारसहित बाढी प्रभावित पत्रकार कालिका खड्कालाई भेटी सहानुभूति प्रकट गर्नुभएको छ ।
आज भद्रकालीस्थित राससको केन्द्रीय कार्यालय आउनु भइ राजदूत खानले राससकर्मी खड्काका श्रीमान् एवं पत्रकार टेकराज थामी भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बाढीबाट नेपाल, रासस र पत्रकार खड्काको परिवार पीडामा रहेको छ, यस विषम परिस्थितिमा धैर्य, संयमता अपनाउन आग्रह गर्दछु ।”
पत्रकार थामी बेपत्ता भएकाप्रति राजदूत खानले दुःख प्रकट गर्नुभयो । उहाँले खड्काको पारिवारिक स्थितिबारे जानकारी लिँदै आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । सो क्रममा राजदूत खानले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक एवं पारिवारिक सम्बन्ध रहँदै आएको बताउँदै शैक्षिक क्षेत्रमा समेत सम्बन्ध प्रगाढ रहेको सुनाउनुभयो ।
पाकिस्तानमा नेपालका धेरै युवाले छात्रवृत्ति पाउँदै आएको जानकारी दिँदै राजदूत खानले खड्काको छोरीलाई शैक्षिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म नेपाली परिवारको सदस्य हुँ जस्तै लाग्छ”, राजदूत खानले खड्काप्रति सहानुभति प्रकट गर्दै भन्नुभयो, “आवश्यकता परेको खण्डमा तपाईंको छोरीको शिक्षामा सहयोग गर्छौैँ ।”
रासस कार्यालय अवलोकन
सो क्रममा राजदूत खानले रासस सङ्ग्रालय अवलोकन गर्दै पत्रकारिताको क्षेत्रमा राससको योगदान अतुलनीय रहेको बताउनुभयो ।
नेपाल र पाकिस्तानबीच सांस्कृतिक सम्पदाका क्षेत्रमा पनि गहिरो अन्तरसम्बन्ध रहेको बताउँदै उहाँले रासससँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
राजदूत खानले जलवायु न्यायका सम्बन्धमा नेपालको पक्षमा उभिएर विश्व समुदायमा पाकिस्तानले सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राईले पाकिस्तानसँगको समन्वयमा संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपिपी) र राससबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
राससका प्रधानसम्पादक उत्तम सिल्वालले नेपाल र पाकिस्तानको सहकार्यमा समाचार समितिको भूमिका अझै प्रगाढ बनाउन सकिने बताउनुभयो ।
राससका प्रमुख समाचारदाता एकराज पाठकले वर्तमान अवस्थामा जलवायु परिवर्तनको कारण नेपालले भोग्नुपरेको समस्याबारे जानकारी दिँदै आगामी दिनमा पाकिस्तानाका सञ्चार माध्यम र राससबीच गर्न सकिने सहकार्यबारे जानकारी गराउनुभयोे ।