भदौ २४, २०८३ बुधबार

काठमाडौँ, २४ भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गर्नुपर्ने उपलब्धिका सम्बन्धमा कार्यसम्पादन करार सम्झौता भएको छ ।

मन्त्रालयमा मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको हो । सम्झौतामा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका प्राथमिकताका विषयलाई निर्धारित समय, लागत र गुणस्तर कायम गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

मन्त्री चौधरीले सम्झौतामा उल्लेखित लक्ष्य तथा कार्यक्रमलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्न सचिव डा मिश्रलाई निर्देशन दिँदै मन्त्रालयका कामलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।