भदौ २४, २०८३ बुधबार

सियामेन, २४ भदौ : चीनमा उच्च प्रविधि तथा उच्च मूल्य अभिवृद्धि भएका उद्योग विदेशी लगानीकर्ताका लागि प्रमुख आकर्षण बन्दै गएका छन्। 

    वास्तविक रूपमा उपयोग गरिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा यी क्षेत्रको हिस्सा पनि निरन्तर बढिरहेको एक प्रतिवेदनले देखाएको छ।

    पूर्वी चीनको फुजियान प्रान्तस्थित सियामेनमा आयोजित २६औँ चीन अन्तरराष्ट्रिय लगानी तथा व्यापार मेला (सीआइएफआइटी)का अवसरमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, सन् २०२५ मा चीनले वास्तविक रूपमा उपयोग गरेको कुल एफडीआइमध्ये उच्च प्रविधि क्षेत्रको हिस्सा करिब ३२ प्रतिशत थियो। यसमध्ये वैज्ञानिक अनुसन्धान तथा प्राविधिक सेवा क्षेत्रको योगदान मात्र कुल एफडीआईको करिब २० प्रतिशत हिस्सा रहेको थियो।
    प्रतिवेदनका अनुसार बहुराष्ट्रिय कम्पनीहरूले चीनमा अनुसन्धान तथा विकास (आरएन्डडी) केन्द्र स्थापना गर्ने क्रम तीव्र बनाएका छन्। यसले चीनलाई उनीहरूका विश्वव्यापी नवप्रवर्तन सञ्जालको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न मद्दत गरेको छ।

    सन् २०२५ मा वैज्ञानिक अनुसन्धान तथा प्राविधिक सेवा क्षेत्रमा १४ हजार नयाँ विदेशी लगानीका उद्यम स्थापना भएका थिए। यो अघिल्लो वर्षको तुलनामा २७ दशमलव दुई प्रतिशतको वृद्धि हो। वास्तविक रूपमा उपयोग गरिएको कुल एफडीआईमा यस क्षेत्रको हिस्सा लगातार सात वर्षदेखि बढिरहेको प्रतिवेदनमा उल्लेख छ।

    विश्व अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाका बाबजुद चीनमा भित्रिने विदेशी लगानीले बलियो लचिलोपन देखाएको छ। सन् २०२५ मा चीनमा ७० हजार ३९२ नयाँ विदेशी लगानीका कम्पनी दर्ता भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १९ दशमलव एक प्रतिशतले बढी हो र अहिलेसम्मकै उच्च सङ्ख्या हो।

    सन् २०२६ को पहिलो छ महिनामा नयाँ विदेशी लगानीका उद्यमको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव तीन प्रतिशतले बढेको छ। यस अवधिमा वास्तविक रूपमा उपयोग गरिएको एफडीआई ४०२ दशमलव १४ अर्ब युआन (करिब ५९.३४ अर्ब अमेरिकी डलर) पुगेको छ।

    प्रतिवेदनले चीनमा विदेशी लगानीका स्रोतमा पनि उल्लेखनीय विविधीकरण आएको जनाएको छ। ‘बेल्ट एन्ड रोड’ साझेदार मुलुकबाट चीनमा भित्रिने विदेशी पुँजीको प्रवाह बढ्दै गएको र ती मुलुक प्रमुख लगानीकर्ताका रूपमा उदाइरहेको प्रतिवेदनमा उल्लेख छ।

    सिआइएफआईटी आयोजक समिति र चिनियाँ राज्य परिषद्अन्तर्गतको विकास अनुसन्धान केन्द्रले संयुक्त रूपमा तयार पारेको ‘चीन द्विपक्षीय लगानी प्रतिवेदन २०२६’ लगातार चौथो वर्ष सार्वजनिक गरिएको हो।

    चीनको बाह्य लगानी र भित्रिने प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रवृत्तिको सूचकका रूपमा हेरिने सीआइएफआईटी यस वर्ष सेप्टेम्बर ८ देखि ११ सम्म सञ्चालन भइरहेको छ। मेलामा १२९ देश तथा क्षेत्रका प्रतिनिधिमण्डल सहभागी भइरहेका छन्।