सुर्खेत (छिन्चु), ३ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताउनुभयो । उहाँले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
“विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन, यसले रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणमा योगदान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा चित्रित गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उहाँले प्रशंसा गर्नुभयो ।
दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नूभयो । “आज प्राप्त गरेको ज्ञान र सीप व्यक्तिगत सफलताका लागि मात्र होइन, समाज र देशको विकासका लागि पनि उपयोगी हुनुपर्छ”, उहाँले बताउनुभयो ।
विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले युवापुस्ताले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधतासम्बन्धी समस्याको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयोे ।
उहाँले गुणस्तरीय शिक्षा र सृजनशील सोचका माध्यमबाट युवा पुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने बताउनुभएको छ ।