असार ३, २०८३ बुधबार

राजविराज (सप्तरी), ३ असारः  दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ । 

     ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ ।  
     
    जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराज, सप्तरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सप्तरीको सहकार्यमा आयोजित उक्त प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न सङ्घसंस्था, विद्यार्थी, शिक्षक तथा सर्वसाधारण नागरिक  सहभागि थिए । 
     
    ‘ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई बचाऔँ’ भन्ने मूल नारासहित निकालिएको प्रभातफेरीले राजविराज नगरका प्रमुख सडकहरू परिक्रमा गर्दै सडक सुरक्षा, सवारी अनुशासन र ट्राफिक सचेतनाको सन्देश प्रवाह गरिएको छ ।
  
    कार्यक्रममा सहभागीले ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, सिटबेल्ट बाँध्ने बानी, मदिरा सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने विषयमा जनचेतनामूलक सन्देश दिएका छन् । 
  
    जिल्ला ट्राफिक प्रहरी कार्यालयले सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण तथा सडक सुरक्षासम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ ।

    बढ्दो सवारी चापसँगै दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले यस्ता कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    ट्राफिक सप्ताहअन्तर्गत सञ्चालन गरिएका गतिविधिले सुरक्षित, अनुशासित र दुर्घटनारहित समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।