असार ३, २०८३ बुधबार

काठमाडौँ, ३ असार : सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत गराउनुभएको हो ।

आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आशनबाट उठेर विरोध जनाउनुभएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।

सो पार्टीका सांसद हर्कराज राईले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गर्नुभएको थियो । सांसद राईले मन्त्रीले जवाफ दिइसकेपछि पुनः स्पष्टीकरण सोध्न खोज्नुभएको थियो । सभामुख अर्यालले स्पष्टिकरणमाथि स्पष्टिकरण नहुने बताउनुभयो ।

सभामुख अर्यालले भन्नुभयो, “श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको आदेशको पालना गर्नुपर्ने सबै सांसदहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सांसदलाई सचेत गराउँछु ।”  

सभामुखले पटकपटक आशन ग्रहण गर्न आग्रह गर्नुभए पनि सो दल सम्बद्ध सांसदहरूले बेलमा पुगेर विरोध गर्नुभएको छ । सभामुख अर्यालले विधि नियम र नियमावलीअनुसार नै संसदको कारवाही अगाडि बढेको भन्दै आशनमा बसेर सहयोग गर्न आग्रह गर्नुभयो ।
---