काठमाडौँ, ३ असारः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताउनुभयो ।
“स्थानीय कृषि उपजको बजारको पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ”, मन्त्री कुमारीले भन्नुभयो ।
दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ पूरा भई अन्तिम प्रतिवदेन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै उहाँले प्रतिवेदनको सुझाव अनुरुप सरकारले थप कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “धौवादी फलाम खानी सञ्चालनका लागि ‘मोडालिटी’ तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।
मन्त्री कुमारीले तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो । सिलगुडी–चारआली र मोतिहारी–अमलेखगन्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण परियोजना अघि बढेको जानकारी दिँदै उहाँले सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माणका लागि जग्गा व्यवस्थापन भएको र अन्य प्राविधिक कार्य नेपाल आयल निगमले गरिरहेको बताउनुभयो ।
“औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति गरी औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीलाई स्थान उपलब्ध गराउने कार्य अघि बढेको छ”, मन्त्री कुमारीले भन्नुभयो ।