तनहुँ, ३ असारः जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ । गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेको अनुमान गरिएको छ ।
त्यस क्षेत्रमा ३७ घरका १०६ जनाका परिवारले स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेका छन् । उक्त जग्गा घरायसी कागजपत्रका भरमा किनबेच भइरहेको जानकारी पाइएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँले गुठीको जग्गा व्यक्तिका नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने स्पष्ट कानुनी प्रावधान रहे पनि सो क्षेत्रमा घरायसी कागज बनाएर जग्गा किनबेच गरिँदै आएको पाइएकाले यस्ता जग्गा खरिद–बिक्री नगर्न सूचित गरिएको बताउनुभयो ।
गाउँपालिकाले गुठीको जग्गा खाली गर्नसमेत स्थानीय बासिन्दालाई आग्रह गरेको छ । कहीँकतै जग्गा नभएका वास्तविक सुकुम्बासीलाई सङ्घीय सरकारले वैकल्पिक जग्गाको व्यवस्थापन गरी कानुनी रूपमै लालपुर्जा दिने तयारी गरिरहेको छ ।
देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको सक्रियतामा देवघाटको वेणी क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १६ वटा अस्थायी टहरा भने पूर्ण रूपमा हटाइसकिएको छ ।
त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी’को स्नानघाट संरक्षण र धार्मिक क्षेत्रको सौन्दर्यकरणका लागि क्षेत्र विकास समितिले सातदिने सूचना जारी गरेपछि सो क्षेत्रका अनधिकृत संरचना हटाइएको छ । स्नानघाट संरक्षण पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न सङ्घसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले ती टहरा बनाएर उपभोग गर्दै आएका थिए ।
–––