गण्डकी, ३ असार : यही असार ९ (जुन २३) मा पर्ने अन्तरराष्ट्रिय ओलम्पिक दिवस पोखरामा विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको छ । नेशनल ओलम्पिक एकेडेमी नेपाल, प्रदेश खेलकुद परिषद्, नेपाल भूतपूर्व खेलाडी मञ्चलगायत खेलसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा दिवस मनाउन लागिएको हो ।
साताव्यापी कार्यक्रमअन्तर्गत मङ्गलबार प्रदेश खेलकुद परिषद्का पदाधिकारी, सदस्य र प्रदेशस्तरीय खेल सङ्घका पदाधिकारीलाई ध्यान अभ्याससहित ओलम्पिकको इतिहास र ओलिम्पक अभियानबारे अभिमुखीकरण गरिएको एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँले ओलम्मिक शिक्षा विश्वव्यापी रूपमा प्रसार भइरहेको सन्दर्भमा यसको इतिहास र महत्व बुझाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
ओलम्पिकलाई कुनै पदक र मनोरञ्जनका लागि मात्र नभएर व्यक्ति र समाज रुपान्तरणको माध्यमका रूपमा लिनुपर्ने उहाँको भनाइ छ । बिहीबार जिल्ला खेलकुद विकास समिति, कास्कीका पदाधिकारी र सम्बन्धित खेल सङ्घका पदाधिकारीहरूलाई सोही विषयमा अभिमुखीकरण प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
आगामी शनिबार पोखरा महानगरपालिका–१ सँगको सहकार्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पाँच किलोमिटर सडक दौड प्रतियोगिताको आयोजना गरिएको छ । असार ७ गते आइतबार ओलम्पिककै विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिँदैछ ।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरमा सोमबार खेल प्रशिक्षक र खेलाडीलाई ओलम्पिक अभियानका विषयमा अभिमुखीकरण गरिने एकेडेमीले जनाएको छ । सोही दिन पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका पदाधिकारीसहितको सहभागितामा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
दिवसको अवसर पारेर ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तरराष्ट्रिय एकताको प्रतीकका रूपमा यसको महत्वबारे प्रशिक्षित गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार विश्वभरका २०६ राष्ट्रिय ओलम्पिक समितिहरूले विभिन्न खेल गतिविधिमार्फत दिवस मनाइरहेका छन् । सोही क्रममा नेपालमा पनि साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना भइरहेको उहाँले बताउनुभयो ।