त्रिशूली (नुवाकोट), २ असोजः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे-त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।
गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको छ ।
नगरप्रमुख राजन श्रेष्ठले प्रभावित नागरिकको दैनिकी सहज बनाउन र बाढीबाट क्षतिग्रस्त त्रिशूली बजारमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन पुल निर्माणका लागि चौतर्फी पहल भइरहेको बताउनुभयो । उहाँले नेपाली सेनासँगको सहकार्यमा विभिन्न निकायको समन्वयमा मोटरेबल पुल निर्माण गर्न सकिएमा प्रभावित क्षेत्रको आवागमन सहज हुने जानकारी दिनुभयो ।
“बाढीले बगाएका तथा पुरिएका संरचनाका कारण बगरमा परिणत भएको त्रिशूली बजारमा अपेक्षाअनुसार खोज तथा उद्धार गर्न सकिएको छैन ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विपद्पश्चात् हाम्रो पहिलो चाहना पुल निर्माण हो । प्राविधिक अध्ययनमा नदीको बहाव र आकारका कारण पुल निर्माण गर्न कठिनाइ भइरहेको छ ।”
उहाँका अनुसार त्रिशूली नदी पार गर्न पुल नहुँदा प्रभावित बासिन्दा तुइनको भरमा आवतजावत गर्न बाध्य छन् । आवागमन सञ्चालन गराउन तुइन राखिए पनि त्यसबाट आवश्यकताअनुसार सेवा दिन नसकिने भएकाले स्थायी वा अस्थायी मोटरेबल पुल निर्माणको विकल्प खोज्नुपर्ने उहाँको भनाइ छ ।
नदीको बहाव र भूगोलले पुल निर्माणमा चुनौती
बाढीपछि त्रिशूली नदीको बहाव क्षेत्र करिब ३० मिटर उचाइमा पुगेको र नदीले दायाँबायाँ करिब १५० मिटर क्षेत्र ओगटेर बगिरहेको प्राविधिक अध्ययनले देखाएको छ । नदीको फराकिलो बहाव, उचाइ तथा ग्रेगर-लेदोसहितको थलथले हिलोका कारण तत्काल बेलिब्रिजलगायतका अस्थायी मोटरेबल पुल राख्न कठिनाइ रहेको सडक डिभिजन नुवाकोटको अध्ययनमा उल्लेख छ ।
सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्माले विदुर-१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी तत्काल पुल राख्न सकिने अवस्था नरहेको जानकारी जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा गराउनुभएको थियो ।
बाढीपछि नदीले लिएको आकार, बहावको उचाइ तथा नदीमा थुप्रिएको ग्रेगर र लेदोका कारण पुल निर्माणका लागि आवश्यक प्राविधिक तथा भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको उहाँले बताउनुभएको हो ।
असम्भव देखिए पनि विकल्प खोज्नुपर्ने सुझाव
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जतिसक्दो चाँडो पुल निर्माण गरी त्रिशूली बजारमा पुगेको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन तथा त्रिशूली अस्पतालसँगको सम्पर्क पुनःस्थापना गर्नुपर्ने बताउनुभयो ।
“पुल निर्माणका लागि असम्भव देखिएका विषयमा पनि विकल्प खोजेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “त्रिशूली बजारमा भएको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन र अस्पतालसँगको सम्पर्क जोड्न ढिलाइ गर्नुहुँदैन ।”
जिसस प्रमुख ठकुरीले विपद्पछि प्रभावित नागरिकको जीवन सहज बनाउन आवश्यक पूर्वाधार निर्माणमा सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
८५ जना हराइरहेको तथ्याङ्क
भोटेकोशी बाढीका कारण विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारबाट ८५ जना हराइरहेको वडा कार्यालयको तथ्याङ्क छ । बाढीबाट प्रभावित दुई बस्ती जोड्न तथा नदीपारिको भूगोलसँग सम्पर्क स्थापित गर्न पुल निर्माण अत्यावश्यक देखिएको छ ।
ढुङ्गे-त्रिशूली पुल निर्माण भएमा विदुरबाट त्रिशूली नदी पारि तारकेश्वर, म्यागङ, किस्पाङ हुँदै रसुवाको उत्तरगया गाउँपालिकाको ठूलोगाउँ र डाँडागाउँसम्म आवागमन सहज हुनेछ ।
पुल अभावले बाढी प्रभावितको खोज तथा उद्धार र राहत सामग्रीको समानुपातिक वितरणमा मात्र नभई आमनागरिकको दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पारेको छ । विदुरतर्फका बासिन्दालाई नदी पारि रहेका अस्पताल तथा नेपाल विद्युत् प्राधिकरणका सेवा लिन कठिनाइ भइरहेको छ भने नदी पारिका बासिन्दालाई सडक तथा पुलको अभावमा सदरमुकाम हुँदै जिल्ला बाहिरसँगको सम्पर्क टुटिरहेको छ ।
बाढीपछि त्रिशूली नदीको दुवैतर्फका बासिन्दाले भोग्दै आएको आवागमन समस्या समाधान गर्न ढुङ्गे-त्रिशूली पुल निर्माणको अन्योलता चाँडै हट्ने र आवश्यक पहलले गति लिने आशा स्थानीयवासीले गरेका छन् ।