काठमाडौँ, ३० जेठः भावीपुस्तालाई विवेक र ज्ञानसहितको शिक्षा प्रदान गर्न चेतनामा आधारित वैदिक शिक्षा पद्धति अवलम्बन गर्नुपर्ने माग गर्दै २२ बुँदे घोषणापत्र जारी भएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आज दक्षिणकाली नगरपालिका-१ स्थित बोसनमा आयोजना गरेको चेतनामा आधारित शिक्षासम्बन्धी एकदिने राष्ट्रिय सम्मेलनमा योग, ध्यान समावेश गरी संस्कारसहितको शिक्षा दिनुपर्ने घोषणा गरिएको हो ।
महर्षि वैदिक शिक्षा अर्थात् चेतनामा आधारित शिक्षाले व्यक्तिलाई स्वप्रकाशितता र राष्ट्रलाई अजेयता दिने भएकाले यसका लागि २२ बुँदे घोषणापत्र जारी गरिएको जनाइएको छ । कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले योग, ध्यान र आरोग्यसम्बन्धी विषय सरकारले १०० बुँदे कार्यक्रममा राखेर चेतनामा आधारित शिक्षालाई प्रवर्द्धन गर्न खोजेको बताउनुभयो । चेतनामा आधारित शिक्षालाई पाठ्यक्रममा राख्ने गरी नीतिनिर्माण गरिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसका लागि समितिका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले आगामी वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चेतनामा आधारित शिक्षालाई समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा यही शैक्षिक सत्रदेखि चेतनामा आधारित पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न लागिएको पनि उहाँले बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपालमा शैक्षिक सुधारका लागि चेतनामा आधारित शिक्षाको वकालत गरिँदै आइएको बताउनुभयो । चेतनामा आधारित शिक्षाका लागि नमूना विद्यालय स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
भावीपुस्तालाई अक्षर र अङ्कको ज्ञान मात्र नभई उनीहरूको भित्री चेतनाको असीम क्षमतालाई प्रस्फुटन गराउने एक विशेष प्रणाली नै चेतनामा आधारित शिक्षा हो । यो आधुनिक शिक्षा प्रणालीभन्दा धेरैमाथि उठेर विद्यार्थीलाई केवल जानकारीको भारी बोकाउनेभन्दा पर उनीहरूभित्र लुकेको वास्तविक ज्ञान, विवेक र सृजनशीलताको खानी पत्ता लगाउन सघाउने एक वैज्ञानिक पद्धतिका रूपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
यो शिक्षाले विद्यार्थीहरूलाई किताबी ज्ञानको संसारमा विचरण गराउँदै गर्दा उनीहरूको अन्तर्मनको गहिराइमा डुबुल्की मार्न सिकाउँछ । योगासन, प्राणायाम, भावातीत ध्यान, यौगिक उडान सहितको सिद्धि र अन्य वैज्ञानिक रूपमा प्रमाणित चेतना विकासका प्रविधिहरू यस पाठ्यक्रमका अभिन्न अङ्गका रूपमा रहन्छन् । यस्तो शिक्षा पद्धतिले कलिला मस्तिष्कलाई शान्त, एकाग्र र ग्रहणशील बनाउँछन् । तनावमुक्त, आनन्दित वातावरणमा विद्यार्थीले सिकेका कुरा उनीहरूको जीवनको हिस्सा बन्छन् ।
यस शिक्षा पद्धतिको आधारभूत तत्व भावातीत ध्यान तथा सिद्धिको अभ्यासले गर्दा विद्यार्थीको स्मरणशक्ति बढ्ने भएकाले यस प्रणालीलाई जोड दिइएको फाउण्डेसनका अध्यक्ष बाँस्कोटाले बताउनुभयो । “विद्यार्थीमा भएको रचनात्मकताले नयाँ उडान भर्छ । समस्यालाई अवसरमा बदल्ने अद्भुत क्षमता विकास हुन्छ र निर्णय लिन सक्ने आत्मविश्वासले विद्यार्थी भरिपूर्ण हुन्छन्”, उहाँले भन्नुभयो ।
वैदिक दर्शनबाट आएको चेतनामा आधारित शिक्षालाई विभिन्न वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेका छन् । यसबाट विद्यार्थीमा नैतिक मूल्य मान्यताको बिजारोपण हुन्छ । भावनात्मक रूपमा सन्तुलित बन्दै जीवनका हरेक उतारचढावलाई सहजताले स्वीकार गर्न सिक्छन् । यस्तो शिक्षाबाट दीक्षित विद्यार्थीहरू केवल परीक्षामा उत्कृष्ट अङ्क ल्याउने प्रतिस्पर्धी मात्र नभएर जीवनको परीक्षामा सफल हुने संवेदनशील, करुणाले भरिपूर्ण र जिम्मेवार नागरिक बन्छन् ।
नेपालमा कहिले र कसरी सुरु भयो चेतनामा आधारित शिक्षा ?
नेपालमा सन् २०१२ मा तक्षशिला एकेडेमी, तिलिङ्गाटार माध्यमिक विद्यालय र सैनिक आवासीय महाविद्यालयमा भावातीत ध्यान सिकाउन सुरुवात गरी यो शिक्षा पद्धति सुरु भएको हो । सन् २०१२ मा दुई जना ध्यान शिक्षकलाई चेतनामा आधारित शिक्षाको तालिमको लागि नेदरल्याण्ड पठाइएको थियो ।
सन् २०१२ मा चार जना नेपाली सहभागीलाई भारतको ब्रह्मस्थानमा चेतनामा आधारित शिक्षाको तालिमका लागि पठाइयो । सन् २०१३ मा माउन्ट एभरेष्ट स्कूल, भक्तपुरमा भावातीत ध्यानको सुरुवात भएको थियो । सन् २०१३ मा तिलिङ्गाटार माध्यमिक विद्यालय, माउन्ट एभरेष्ट र सैनिक आवासीय महाविद्यालयका छ जना शिक्षक शिक्षिकालाई भावातीत ध्यान शिक्षक तालीमका लागि थाइल्याण्ड पठाइएको थियो ।
सन् २०१३ मा पाँच जना ध्यान शिक्षक तथा विद्यालय शिक्षकलाई चेतनामा आधारित शिक्षाको तालीमको लागि नेदरल्याण्ड पठाइएको थियो । सन् २०१४ मा एक जना शिक्षिकालाई चेतनामा आधारित शिक्षाको तालिमको लागि नेदरल्याण्ड पठाइएको थियो । सन् २०१५ मा सैनिक आवासीय महाविद्यालयमा नेदरल्याण्डमा दिइने चेतनामा आधारित शिक्षाको १५ दिनको तालिम सम्पन्न भएको थियो । सो तालिममा ५२ जना शिक्षक–शिक्षिकाको सहभागिता थियो ।
सन् २०१५ मा चितवन र पोखरामा रहेका सैनिक आवासीय महाविद्यालय, भक्तपुरको माउन्ट एभरेष्ट र दाङको ज्योतिष्मती विद्यापीठबाट पाँच जनालाई ध्यान शिक्षकको तालिमको लागि थाइल्याण्ड पठाइएको थियो । सन् २०१६ मा नेदरल्याण्डमा दिइने चेतनामा आधारित शिक्षाको तालिम नेपालमा आयोजना गरिएकामा २३ जनाको सहभागिता थियो । सन् २०१६ मा ज्योतिष्मती विद्यापीठ लमहीमा भावातीत ध्यान सिकाउन सुरु गरिएको थियो ।
सन् २०१६ मा नेपालमा चेतनामा आधारित शिक्षाको सेमिनार आयोजना गरिएको थियो । कार्यक्रममा शिक्षा मन्त्रालय तथा विभिन्न संस्थाबाट शिक्षाविद् तथा शिक्षकहरूका साथै अन्य विषय विज्ञको पनि सहभागिता थियो । सन् २०१७ मा चेतनामा आधारित शिक्षाअन्तर्गत व्यावसायिक विकास कोर्ष–१ को तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा ३२ जना सहभागी भएका थिए । सन् २०१८ मा महर्षि आदर्श शिक्षण तालिमको आयोजना गरिएको थियो ।
सन् २०१९ मा तिलिङ्गाटार माध्यमिक विद्यालयका शिक्षक शिक्षिका तथा सैनिक आवासीय महाविद्यालयका प्राचार्यलाई चेतना विज्ञानको तालिम दिइएको थियो । ज्योतिष्मति विद्यापीठ लमही, दाङ तथा तिलिङ्गाटार माध्यमिक विद्यालय धापासीका शिक्षक शिक्षिकालाई व्यावसायिक विकास कार्यक्रमअन्तर्गत चेतनामा आधारित शिक्षा १ र २ को तालिम प्रदान गरिएको थियो । दुई विद्यालयका विद्यार्थीलाई चेतना विज्ञानका १६ मध्ये आठ सिद्धान्तको पाठ्यक्रम सञ्चालन गरिएको थियो । यो कक्षा जुम प्रविधिमार्फत गरिएको थियो । यस कार्यक्रमको निरन्तरता प्रत्येक शैक्षिक सत्रमा हुँदै आएको छ ।
सन् २०२३ देखि क्रिएटीभ एकेडेमीमा सबै शिक्षक शिक्षिका र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भावातीत ध्यान सिकाएर चेतनामा आधारित शिक्षाको सुरुवात गरिएको थियो । सन् २०२४ मा दक्षिणकाली नगरपालिकाका आदिनाथ माध्यमिक विद्यालय र प्याराडाइज एकेडेमीका शिक्षक शिक्षिकालाई भावातीत ध्यान सिकाएको थियो । सन् २०२५ देखि सुदूरपश्चिम प्रदेशको चैतन्य पाठशालामा चेतनामा आधारित शिक्षाको सुरुवात गरिएको छ ।
नेपाली पण्डितहरूद्वारा अन्तरराष्ट्रिय ग्रहशान्ति यज्ञ २०७० सालदेखि सिफलमा, २०७२ सालदेखि भूमही नवलपरासीमा र २०७५ सालदेखि झापामा प्रारम्भ गरी चेतनामा आधारित शिक्षालाई विस्तार गरिएको छ ।