जेठ १३, २०८३ बुधबार

सिद्धार्थनगर, १३ जेठ : लुम्बिनी प्रदेशका मख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

    प्रदेश विपद् व्यवस्थापन परिषद्को १३औँ बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस वर्ष पानीजन्य विपद्बाट क्षति बढ्नसक्ने आँकलन गरिएको बताउनुभयो । 

    प्रि–मनसुन अवधिमै विभिन्न स्थानमा क्षति देखिन थालेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

    उहाँले राहत सामग्री सुरक्षित रूपमा भण्डारण गर्न तथा तीन स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 

    मुख्यमन्त्री आचार्यले विपद्का बेला स्वास्थ्य सेवा, खानेपानी तथा खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै वर्षात्का कारण अवरुद्ध हुनसक्ने सडक तथा यातायातका मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    उहाँले सबै लाइन एजेन्सीलाई आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राखी विपद् प्रतिकार्यमा प्रभावकारी रूपमा परिचालन हुन आग्रह गर्नुभयो ।

    बैठकले आन्दोलनका क्रममा क्षति पुगेका लमहीस्थित मन्त्री आवासको मर्मतलगायतका निर्णय गरेको जनाएको छ ।