जेठ १२, २०८३ मंगलबार

मकवानपुर, १२ जेठः बागमती प्रदेशसभाको बजेट अधिवेशन बैठक आज पनि यहाँ जारी रह्यो । सो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटको सिद्धान्त प्राथमिकता (कर प्रस्तावबाहेक)विनियोजन विधेयक २०८३ माथि छलफल सकिएको छ । 

    आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले हिजो बसेको प्रदेशसभाको बैठकमा सो विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

    उक्त बैठकको विनियोजन विधेयक, २०८३ माथि प्रदेशसभाका करिब ४५ जना सदस्यले सहभागी हुनुहुँदै सरकारलाई बजेट निर्माण गर्दा सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने प्रदेशमा विपद्जन्य घटनालाई क्रियाशील तुल्याउँदै स्थानीय जनप्रतिनिधिहरूलाई अधिकार सम्पन्न गराउनेतर्फ सरकारको लक्ष्य हुनुपर्ने सुझाव दिनुभयो । 

    सोही बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङले बैठकको छलफलमा उठेका विभिन्न प्रश्नको उत्तर दिनुहुँदै प्रदेश सरकारले आगामी आव २०८३÷८४ का लागि प्रस्तुत हुने बजेट सन्तुलित, पारदर्शी तथा बहुवर्षीय योजना र गरिबी उन्मूलन गर्ने आर्थिक प्याकेजलाई केन्द्रविन्दुमा राखेर कार्यान्वयन गर्दै  लैजाने सरकारको नीति रहेको बताउनुभयो । 

    उहाँले प्रदेशसभाका सदस्यहरूले प्रस्तुत सुझावलाई आगामी बजेटमा समावेश गरिने उल्लेख गर्नुहुँदै प्रदेशमा कृषि उत्पादन, धार्मिक पयर्टनको विकासलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशको जिल्लाहरूमा भूगोल र जनताको चाहनाअनुसारको भौति कपूर्वधार निर्माणमा समानुपातिक ढङ्गबाट बजेट र योजनाको वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । 

    मन्त्री तामाङले सत्तापक्षको मात्र नभई सबै प्रतिपक्षदलहरूको भावनालाई कदर गरी प्रदेश सभा सदस्यहरूको सिफारिस र मागबमोजिम क्रमशः बहुवर्षिय योजना, सडक, खानेपानी, विद्युतीकरण, विपत्जन्य घटनालाई न्यूनिकरण गर्नेतर्फ प्रदेशको १३ जिल्लामा जिल्ला सुरक्षा समितिलाई स्रोतसाधन परिचालन गरी समयसीमा भित्र उद्धार पुनस्थापन गर्ने कार्यलाई सरकारले जोड दिने बताउनुभयो । 

    प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको दोस्रो बैठक आजै अपराह्न ५ः१५ बजे बस्ने र बागमती प्रदेश सरकारका तर्फबाट बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आव २०८३/८४ को लागानी तथा कार्यक्रम सार्वजनिक गर्नुहुने भएको जानकारी दिनुभयो ।