इनरुवा (सुनसरी), ६ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्वपूर्ण एवं ऐतिहासिक भएको बताउनुभयएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।
धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उहाँले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्जिनियर दीपककुमार साहले जुन उद्देश्यका साथ सिटीहल निर्माण भएको हो सोहीअनुसार प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कोशी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीको अध्यक्षतामा सम्पन्न सिटीहल उद्घाटन समारोहलाई कोशी प्रदेशका सांसद सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलगायतकाले सम्बोधन गर्नुभएको थियो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार विराटनगरको रु २८ करोड ४१ लाख १९ हजार ४३५ लागतमा निर्माण भएको सिटीहलको क्षमता ५०० जना अट्ने रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज कोशी गाउँपालिकाको लौकहीमा आयोजित विशेष समारोहका बीच आधुनिक एवं सुविधा सम्पन्न सिटीहलको उद्घाटन गर्नुभएको थियो ।