जेठ ६, २०८३ बुधबार

महेन्द्रनगर (धनुषा), ६ जेठः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष आज महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणसम्बन्धी आठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णलाई बुझाउनुभएको हो । प्रतिवेदनमा प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, निर्देशनालय, स्थानीय तह तथा अन्य सार्वजनिक निकायहरूको आर्थिक कारोबार, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, खर्च प्रणाली तथा वित्तीय अनुशासनसम्बन्धी विषय समेटिएको बताइएको छ । लेखापरीक्षणका क्रममा देखिएका बेरुजु, आर्थिक अनियमितता, प्रक्रिया मिचेर गरिएको खर्च तथा सुधार गर्नुपर्ने पक्षबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले सुशासन प्रवद्र्धन, आर्थिक अनुशासन कायम तथा सार्वजनिक निकायलाई थप जिम्मेवार बनाउन महालेखा परीक्षणको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले प्रतिवेदनमा औँल्याइएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख कर्णले सार्वजनिक स्रोत र साधनको पारदर्शी तथा प्रभावकारी उपयोग हुनुपर्ने उल्लेख गर्दै आर्थिक कारोबारलाई नियमसम्मत, मितव्ययी र जनउत्तरदायी बनाउन सबै निकाय जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले लेखापरीक्षणबाट औँल्याइएका कमजोरी सच्याउन सके मात्र सुशासन र विकासप्रतिको जनविश्वास बलियो हुने बताउनुभयो ।

नायब महालेखा परीक्षक पाण्डेले प्रतिवेदनले सार्वजनिक निकायको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित र उत्तरदायी बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले बेरुजु न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा आर्थिक पारदर्शिताका लागि सम्बन्धित निकायले आवश्यक सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, महालेखा परीक्षक कार्यालयका कर्मचारी तथा विभिन्न सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।