बागमती, १ मङ्सिर : राप्ती नदीको संरक्षण, स्वच्छता र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘चौथो राप्ती नदी दिवस–२०८३’ का अवसरमा आज हेटौँडाको राप्ती नदी पुल क्षेत्रस्थित नदी किनारामा सरसफाइ गरिएको छ ।
राप्ती नदीको सभ्यताको संरक्षणसँगै यसको स्वच्छतालाई कायम राख्ने उद्देश्यसहित विसं २०८० देखि हरेक वर्ष मङ्सिर १ गते राप्ती नदी दिवस मनाउँदै यसैका सन्दर्भमा मकवानपुरको भीमफेदीदेखि चितवनको गोलालघाटसम्म नदी किनारमा सरसफाइ गर्ने गरिएको डिभिजन बन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय हेटौँडाको आयोजना एवं हेटौँडा उपमहानगरपालिकाको सहकार्य र सामुदायिक वन उपभोक्ता महासङ्घ, हेटौँडाको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो ।
“स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान” नारासहित आयोजित कार्यक्रमअन्तर्गत हेटौँडामा राप्ती नदी पुलमाथि ५०० मिटर तथा तल २०० मिटर क्षेत्रमा सरसफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा हिमालयन राइडर्स सोसाइटी, हेटौँडा, साइकल सिटी हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल १४ नं गण, गोरक्षेश्वर धाम क्षेत्र विकास समिति लगायत संघ संस्थाले सहयोग गरेका थिए । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नदी क्षेत्रको सरसफाइमा समाजका सबै क्षेत्र र समुदायको सामूहिक सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो ।
नदी किनारा क्षेत्रलाई सफा बनाइराख्नुुपर्छ भन्ने सचेतना अभिवृद्धि गर्नु पनि जरुरी रहेको उहाँले बताउनुभयो । मकवानपुरको भीमफेदी क्षेत्रबाट सुरु भई हेटौँडा, मनहरि र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवं आगन्तुक चराचुरुङ्गीहरूको महत्वपूर्ण बासस्थान मानिन्छ ।
तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग समेत राप्ती नदीको गहिरो सम्बन्ध रहेको छ । नदीमा बढ्दो मानवीय चाप र प्लास्टिकजन्य फोहोरको प्रदूषण न्यूनीकरण गरी जलचर तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न हरेक वर्ष मङ्सिर १ गते राप्ती नदी दिवस मनाउँदै आइएको छ ।
राप्ती नदीको मुहान मकवानपुरमा रहेका कारण मुुहानदेखि नै यसको सरसफाइ ध्यान दिनु आवश्यक रहेको हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापा मगर बताउनुहुन्छ ।
“वर्षमा एक दिन दिवसका रुपमा मात्र नभइ ३६५ दिन नै नदी किनारा क्षेत्रमा फोहर फाल्न नदिने गरी सामुदायिक सचेतना जगाउनुु पनि अपरिहार्य छ”, उहाँले भन्नुभयो, “नदीको स्वच्छता पर्यवरणको संरक्षणमा पनि उत्तिकै अपरिहार्य भएको हुँदा यसतर्फ सबैको सामूहिक प्रयास र सहकार्य आवश्यक छ ।”