मंसिर १, २०८३ मंगलबार

काभ्रेपलाञ्चोक, १ मङ्सिर : बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । 

सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ । सडक चौडा पार्न रु तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यता पाँच दशमलव ५ मिटर (इन्टरमिडियट : एक लेनभन्दा केही फराकिलो) रहेको छ । 

कार्यालयका अनुसार चौडा पारिने सडकको लम्बाइ २० दशमलव छ किलोमिटर रहेको छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राससलाई जानकारी दिनुभयो ।

उहाँले प्रारम्भिक बातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरमा पुगेको पनि बताउनुभयो ।  डिपीआर अनुसार रु तीन अर्ब ७९ करोड ७८ लाख ५००  लाग्ने खर्चका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत प्रस्ताव गरिएको योगेशको भनाइ छ । 

कूल खर्चानुमान अनुसार सडक फराकिलो बनाउन प्रतिकिलोटिर रु १८ करोड छ लाख लाग्ने भएको हो । “स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रियामा गइनेछ, यसै वर्ष विस्तारको काम सुरु हुन्छ”, योगेशले भन्नुभयो ।  उहाँका अनुसार धुलिखेलदेखि भकुण्डेबँेशीसम्म सडक दायाँबाँयाका रुख कटान गर्नुपर्ने तथा मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु गर्न ठेक्का प्रक्रियासँगै केही महिना लम्बिन सक्ने छ ।  काम सुरु गरिएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न हुने समय सीमा सम्झौतामा तोकिने छ ।