कात्तिक २८, २०८३ शनिबार

गुसाउ, २८ कात्तिक (रासस/एएफपी): नाइजेरियाको उत्तरपश्चिमी राज्य जामफारामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच भएको झडपमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय बासिन्दाहरूले शनिबार एएफपीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४४ जना सशस्त्र समूहका सदस्य र नौ जना स्थानीय सुरक्षा दस्ताका सदस्य रहेका छन् ।

    स्थानीय स्रोतहरूका अनुसार, छिमेकी गुम्मी जिल्लाबाट केही व्यक्तिलाई अपहरण गरी गाउँ हुँदै गइरहेका डाँकाहरूलाई बुक्कुयुम जिल्लाको जोमा गाउँका स्थानीय सुरक्षा दस्ताले बिहीबार बाटो ढुकेर आक्रमण गरेका थिए ।

    गाउँका एक प्रमुखले आफ्नो परिचय गोप्य राख्ने सर्तमा भने, “हाम्रा सुरक्षा दस्ताले ४४ जना डाँकाहरूलाई मारेका छन् । यस भिडन्तमा हाम्रा नौ जना सुरक्षा दस्ताका सदस्यले पनि ज्यान गुमाएका छन् ।”

    व्यक्तिगत सुरक्षाको कारण देखाउँदै ती प्रमुखले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । अन्य दुई स्थानीय बासिन्दाले पनि घटनाको पुष्टि गर्दै झडपमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको बताएका छन् ।