पोन्नाग्युन, २८ कात्तिक: म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले उक्त जानकारी दिएका हुन् ।
राज्यको राजधानी सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा शुक्रबार साँझ आक्रमण भएको थियो । उक्त आक्रमणमा आफ्नी छोरी, काकी र आमाको मृत्यु भएको बताउँदै २७ वर्षीया पसल सञ्चालक चित सु वाई भावुक हुनुभयो ।
“मैले त्यहाँ उनीहरूका शव छरपस्ट अवस्थामा देखेँ । यो पीडा बयान गर्न मसँग शब्द छैनन्,” उहाँले भन्नुभयो ।
“हामीले लडाकु विमान आएको चालै पाएनौँ । त्यो अचानक आयो र बम खसाल्यो,” उहाँले थप भन्नुभयो ।
उद्धार तथा आपत्कालीन सेवा संस्था ‘फ्युसिन यिन ख्विन फाउन्डेसन’का अध्यक्ष खाइन हेन हतेतले पनि मृतकको सङ्ख्या १२ रहेको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार मृतकमध्ये पाँच वर्षीय बालकसमेत छन् भने अन्य १८ जना घाइते भएका छन् । उक्त शिविरमा विस्थापितहरू विगत चार वर्षदेखि बस्दै आएका थिए ।
“उनीहरूले शिविर सुरक्षित छ भन्ने ठानेका थिए । हामी घटनास्थल पुग्दा अधिकांश पीडितको एउटै स्थानमा मृत्यु भइसकेको थियो,” हतेतले भन्नुभयो ।
म्यानमामा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि गृहयुद्ध चर्किएको हो । प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू सेनाविरुद्ध सङ्घर्षरत छन् ।
पश्चिमी तटीय राज्य राखाइन युद्धबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । जातीय अल्पसङ्ख्यक सशस्त्र समूह आराकान आर्मीको प्रभाव रहेको यस क्षेत्रमा सेनाले नाकाबन्दी लगाउनुका साथै निरन्तर हवाई आक्रमण गर्दै आएको छ । पछिल्लो घटनाबारे प्रतिक्रिया लिन सेनासँग सम्पर्क हुन सकेन ।
शनिबार घटनास्थलमा बाँसका घरहरू भत्किएका थिए भने घरायसी सामान र कपडाहरू छरपस्ट अवस्थामा देखिन्थे । स्थानीयले मृतकका शवलाई प्लास्टिकमा बेरेर अस्थायी चिहानमा गाडेका थिए ।
पैचालिस वर्षीय टुकटुक चालक आउङ क्याव मिनले आक्रमणमा आफ्नी बहिनी र भाइ गुमाएको बताउनुभयो । भोलिपल्ट आमाको पनि मृत्यु भएको थाहा पाएका उहाँले १० वर्षीय बच्चासहित अन्य आफन्त अझै बेपत्ता रहेको जानकारी दिनुभयो ।
द्वन्द्व अनुगमन गर्ने संस्था ‘एक्लेड’का अनुसार म्यानमामा गृहयुद्ध सुरु भएयता विभिन्न पक्षका गरी एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
–––