कात्तिक २८, २०८३ शनिबार

कर्णाली, २८ कात्तिकः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हिमालमा करोडौँको संरचना निर्माण हुनु सङ्घीयताको उपलब्धि भएको बताउनुभएको छ ।

    मुगुम कार्मरोङ गाउँपालिका–६ मुगुको रिउस बजारमा निर्मित १० श्ययाको अस्पताल भवन आज उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकट मुगु र मुगुको दुर्गम गाउँमा यो स्तरको स्वास्थ्य संरचना बन्नु यहाकाँ बासिन्दाका लागि निकै खुसी र गौरवको विषय भएको बताउनुभयो । 

    सडक र निर्माण सामग्री पुर्‍याउन सहज नहुँदा पनि रु १० करोड २४ लाख ९३ हजारमा अस्पतालको संरचना बनाउने निर्माण कम्पनीलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । 

    उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट सहज पहुँच नभएको दुर्गम पालिकामा रु १० करोडको ठूलो स्वास्थ्य संरचना बन्नुमा सङ्घीयताको उपज र उपलब्धि हो । सङ्घीयतापछि गाउँमा शिक्षा, खानेपानी, विद्युत् र सञ्चारका संरचना बन्दै गएका छन् । प्रदेश सरकारसहित यसको थप विकास र प्रभावकारी सेवा प्रवाहमा सबैले ध्यान दिनुपर्ने दिनुपर्दछ ।” मुख्यमन्त्री शाहीले सङ्घीयता खर्चिलो नभई उत्पीडित र पिछडिएको क्षेत्र तथा वर्गका लागि वरदान सावित भएको जिकिर गर्नुभयो ।

    अस्पतालको थप स्तरोन्नति गर्नेमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । कार्मारोङ्मा १० श्ययाको अस्पताल संरचना बनिसकेकाले यहाँका नागरिकको स्वास्थ्य सेवाको सहज प्राप्तिका लागि दक्ष चिकित्सकीय जनशक्ति उपलब्ध गराउन विशेष पहल गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रभावकारी सेवा प्रवाह र त्यसको निरन्तरलाई कायम राख्न सबै सरोकारवालाहरूको भूमिका रहनुपर्दछ । 

    नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रमअन्तर्गत अस्पताल निर्माण गरिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । यो अस्पतालबाट वडा नं १ देखि ६ सम्मका मह, माग्री, रिउस, पुअ, दाउरा, सेरोग, कात्तिक क्रिम्रे, ताखाखारी, डोल्फु, चितै र मुगुमका नागरिक सेवा लिन पाउने अध्यक्ष लामाले बताउनुभयो । ७, ८ र ९ वडावासीलाई रिउसभन्दा मुगु गमगढी नजिक हुने उहाँको भनाइ थियो ।