कात्तिक २८, २०८३ शनिबार

फाइल फाेटाे

डब्लिन,२८ कात्तिक (रासस/सिन्ह्वा): युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका कूटनीतिक प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले युरोपको प्रतिनिधित्व गर्ने संयुक्त वार्ता टोली गठन गर्ने सहमति गरेका छन्।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा शुक्रबार डब्लिनमा सम्पन्न ईयू नेताहरूको अनौपचारिक बैठकमा एआई प्रविधिको विकास, आर्थिक प्रतिस्पर्धात्मकता तथा तीव्र गतिमा विकसित भइरहेको प्रविधिका सम्भावित जोखिमबारे विस्तृत छलफल भएको थियो। बैठकलाई ईयू नेताहरूबीच एआईसम्बन्धी विषयमा भएको पहिलो विस्तृत छलफलका रूपमा लिइएको छ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले एआई प्रविधिको विकास र प्रयोगलाई तीव्रता दिनुका साथै महत्त्वपूर्ण प्रविधिमा बाह्य निर्भरता घटाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले यसका लागि सार्वजनिक तथा निजी क्षेत्रबाट पर्याप्त लगानी परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार ईयूको आगामी दीर्घकालीन बजेट र प्रस्तावित युरोपेली प्रतिस्पर्धात्मकता कोषले युरोपको प्रविधिगत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले एआई प्रविधिको विकासलाई थप प्रोत्साहन गर्न युरोपमा सातवटा विशाल एआई केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी  दिनुभएको छ । ती केन्द्रका लागि आवश्यक कम्प्युटिङ पूर्वाधार विकास गर्न करिब ३० अर्ब युरो परिचालन गर्ने अपेक्षा गरिएको छ।

उहाँका अनुसार युरोपको समग्र प्रविधिगत आत्मनिर्भरता अभिवृद्धि गर्न कम्तीमा ५०० अर्ब युरो लगानी आवश्यक पर्नेछ। यससम्बन्धी महत्त्वाकांक्षी वित्तीय प्रस्ताव आगामी बैठकमा प्रस्तुत गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

यसैगरी, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले डिसेम्बर २ मा पेरिसमा युरोपेली प्रविधि क्षेत्रका अगुवाहरूको बैठक आयोजना गरिने जानकारी दिनुभएको छ। नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेटेनसँगको सहकार्यमा आयोजना हुने उक्त बैठकले प्रविधि क्षेत्रका उद्यमी तथा नेतृत्वकर्ताबीच सहकार्य विस्तार गर्दै युरोपको प्रविधिगत आत्मनिर्भरतालाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

बैठकमा एआई प्रविधिको सुरक्षित प्रयोग, प्रभावकारी नियमन तथा समाजमा पर्न सक्ने प्रभावबारे पनि छलफल भएको थियो। कोस्टाले एआईको विकास र प्रयोगलाई जिम्मेवार तथा सुरक्षित बनाउन उचित निगरानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। यस विषयमा सन् २०२७ को फेब्रुअरीमा पुनः छलफल गरिने र सोही वर्षको सामाजिक शिखर सम्मेलनमा एआईको सामाजिक प्रभावलाई प्रमुख विषय बनाइने पनि उहाँले जानकारी  दिनुभयो।


यसैबीच, युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका कूटनीतिक प्रयास पनि बैठकको प्रमुख एजेन्डा बनेका थिए। कोस्टाका अनुसार ईयूका संस्थाहरू तथा बेलायत, फ्रान्स, जर्मनी, इटाली र पोल्यान्ड सम्मिलित युरोपेली टोलीले युक्रेनसम्बन्धी शान्ति वार्तामा युरोपको प्रतिनिधित्व गर्नेछ।

उहाँले शान्ति वार्ताका क्रममा युरोपले स्पष्ट र एकीकृत धारणा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । युरोपेली आयोगकी अध्यक्ष भोन डर लेयेनले पनि उक्त टोलीमा युरोपेली परिषद्, युरोपेली आयोग र पाँच युरोपेली राष्ट्रका प्रतिनिधि सहभागी हुने जानकारी दिनुभएको छ।

युक्रेनलाई आगामी वर्ष तथा त्यसपछिका अवधिमा आवश्यक पर्ने आर्थिक सहयोगबारे नोभेम्बर २६ र २७ मा हुने ईयू परिषद्को बैठकमा छलफल गरिने कोस्टाले बताउनुभयो । युरोपेली आयोगले उक्त बैठकअघि रुसमाथि २२औँ चरणको प्रतिबन्ध प्रस्ताव तथा सन् २०२७ का लागि युक्रेनको वित्तीय आवश्यकता सम्बोधन गर्ने योजना प्रस्तुत गर्ने जनाएको छ।

यसअघि बिहीबार डब्लिनमा सम्पन्न नवौँ युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलनमा पनि युरोपका विभिन्न देशका नेताहरूले क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता तथा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका प्रयासबारे छलफल गरेका थिए।