काठमाडौँ, २७ कात्तिकः काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौँबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ः०० बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।
उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधन बिहान ५ः०० बजेपछिमात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौँ जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका छसहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएका थिए ।