कपिलवस्तु, २० कात्तिकः कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुईकोठे पक्की ब्यारेक भवन उद्घाटन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले आयोजित कार्यक्रममा रिबन काटेर भवन उद्घाटन गर्नाका साथै शिलालेख अनावरण गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक भट्टले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन तथा प्रहरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसका लागि भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।
भवन निर्माणमा सहयोग गर्ने बाणगङ्गा नगरपालिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि प्रहरी र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
बाणगङ्गा नगरपालिका–५ का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने प्रहरीलाई आवश्यक पूर्वाधार र सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । स्थानीय समुदायको सहयोगमा निर्माण भएको भवनले प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, बाणगङ्गा नगरपालिका–६ का वडाध्यक्ष करुण टण्डनले प्रहरी र स्थानीय समुदायबीचको सहकार्यले समाजमा शान्ति र सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधि, पूर्वप्रहरी कर्मचारी, समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो ।