कात्तिक १९, २०८३ बिहिबार

रासस

अछाम, १९ कात्तिकः सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘रामारोशन प्रिमियर लिग’ क्रिकेटको उपाधि साँफेबगर नगरपालिकाले जितेको छ । 

    रामारोशन गाउँपालिका–५ किनिमिनी पाटनमा यही कात्तिक १४ गतेदेखि सुरु भएको ‘रामारोशन प्रिमियर लिग’को आज भएको फाइनल खेलमा साँफेबगरले मेल्लेख गाउँपालिकालाई ६० रनले पराजित गरेको हो । दश ओभरको खेलमा साँफेबगर नगरपालिकाले टस जितेर पहिला ब्याटिङ गर्दै १११ रन बनायो । एक सय १२ रनको लक्ष्य पछ्याएको मेल्लेख गाउँपालिका ९.१ ओभरमा सवै विकेट गुमाउँदै ५१ रनमा समेटियो । 

    प्रतियोगिताको विजेता साँफेबगरले मेडल र प्रमाणपत्रसहित रु दुई लाख तथा उपविजेता मेल्लेख गाउँपालिकाले मेडल र प्रमाणपत्रसहित रु एक लाख पुरस्कार प्राप्त गर्यो । रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्टस् क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । 

    समापन समारोहमा रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन प्रतियोगिताबाट मद्दत पुगेको बताउनुभयो । पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको समापनमा स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवा नाचलगायत  प्रदर्शन गरिएको थियो । 

    क्रिकेट प्रतियोगिता आयोजना गरिएको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो । खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन गरेको थियो ।