कात्तिक १५, २०८३ आइतबार

फाइल फाेटाे

वासिङ्टन, १५ कात्तिक (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताउनुभएको छ । तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो । यद्यपि, उहाँले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गर्नुभयो ।

    अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहो¥याउँदै उहाँले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पु¥याइसकेको दाबी गर्नुभयो ।

    फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ ।”

    ‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उहाँले उक्त स्थललाई पनि निशाना बनाउनुपर्ने बताउनुभयो । सो स्थान भूमिगत आणविक परिसर भएको आशङ्का गरिएको छ । तर, इरानी सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ ।

    यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि चाहेको स्पष्ट पार्नुभयो ।

    अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पका चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिनुभएको छ ।

    ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सङ्केत गर्नुभएको छ । यसअघि उहाँले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताउनुभएको थियो ।