मनामा, बहराइन, १५ कात्तिक (रासस/एएफपी): मध्यपूर्वमा युद्ध फेरि सुरु हुने धम्की आएपछि युएईले इरान र अमेरिकाबीचको वार्तामा सफलताको आशा गरेको छ । युएई युद्धको अझ खराब अवस्थाका लागि पनि तयार रहेको त्यहाँका वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।
“हामी कूटनीतिक सफलताको आशा गर्दैछौँ,” युएईका राष्ट्रपतिको कूटनीतिक सल्लाहकार अन्वर गर्गासले मनामामा भएको एक सम्मेलनमा भन्नुभयो ।
“क्षेत्रलाई फेरि अर्को युद्धको चपेटामा पार्नु यसको हितमा छैन तर हामी पहिले जस्तै सबैभन्दा खराब अवस्थाका लागि पनि तयार हुनुपर्न सक्छ भन्ने पनि मैले बुझेको छु ।
यस साता तेहरानमा कतारको एक प्रतिनिधिमण्डलको भ्रमणपछि इरानले खाडी देशमा आफ्ना दूतहरू पठाएको छ । यो इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको क्रममा युद्ध अन्त्य गर्न गरिएको परामर्शको निरन्तरता हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथिको आक्रमणको चेतावनीलाई दोहो¥याउँदै अमेरिका अझै पनि इरानका एक–दुई लक्ष्यहरू ‘सम्हाल्न’ तयार रहेको बताउनुभयो ।
“हामी इरानलाई यो क्षेत्र र विश्व अर्थव्यवस्था बन्धक बनाउन दिन सक्दैनौँ,” पूर्वीमामिला समेत हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड ब्लोमेले मनामा सम्मेलनमा आइतबार भन्नुभयो ।
ब्लोमले भन्नुभयो, “वार्ताको हात अगाडि बढाइएको छ र ती सम्पर्क स्रोतहरू खुला र सक्रिय नै छन् । वार्ता सफल नभएमा हामी अर्को बाटो पनि अपनाउन तयार छौँ।”
शनिबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पले इरानमा नयाँ आक्रमण गर्ने निर्णय अझै नगरेको र अमेरिका कूटनीतिक समाधानका लागि खुला रहेको बताउनुभयो ।
युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो । इरानले त्यसको जवाफमा वाशिङ्टनका सहयोगी खाडी देशहरूमाथि पनि आक्रमण गरेको थियो ।