तुलसीपुर (दाङ), २८ असोजः इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी बर्न’ क्यामेरा प्राप्त भएको छ । यसअघि प्रहरीसमक्ष ‘बडी बर्न’ क्यामेरा थिएन । जसले गर्दा शान्ति सुरक्षामा निकै समस्या पर्ने गरेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले क्यामेरा जडानपछि दोषी सहजै पत्ता लाग्ने बताउनुभयो । गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल कलेज तुलसीपुरले उक्त क्यामेरा प्रदान गरेको हो । ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मङ्गलबार उक्त क्यामेरा प्रहरी नायब उपरीक्षक पराजुलीलाई प्रदान गर्नुभएको हो ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।
नागरिक र प्रहरीबीच हुने अन्तक्र्रियाको वास्तविक दृश्य तथा श्रव्य अभिलेख राख्न र सडक दुर्घटनालगायतका गतिविधिको प्रत्यक्ष प्रमाण सङ्कलन गर्न क्यामेरा हस्तान्तरण गरिएको गोरखा ग्रुपका शैक्षिक निर्देशक केसीले बताउनुभयो ।
उहाँले प्रहरीलाई आवश्यक परेमा थप दुईवटा बडी वर्न क्यामेरा उपलब्ध गराउनेसमेत बताउनुभयो । सुरक्षाकर्मीको पोसाकमा जडान गरिने बडी वर्न क्यामेराले ड्युटीका क्रममा हुने गतिविधि, घटनाक्रम तथा अडियो र भिडियो रेकर्ड गरी कार्यस्थलमा पारदर्शिता, जवाफदेहिता र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्ँयाउँछ ।