भोजपुर, २८ असोजः गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो ।
घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताउनुहुन्छ ।
पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उहाँ सम्झनुहुन्छ । अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उहाँले बताउनुभयो ।
“पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ । त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।”
समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ । पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ ।
कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताउनुभयो । पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।