काठमाडौँ, २४ असोज : परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।
भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ ।
यससँगै बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो ।
स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो ।
आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया, फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नुभएको थियो ।
जलवायु न्यायका लागि नेपालको आवाज
भ्रमणका क्रममा मन्त्री खनालले यही अक्टोबर ६ मा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गर्नुभएको थियो ।
उहाँले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएको बताउँदै हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
सम्बोधनका क्रममा मन्त्री खनालले नेपालको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनुपरेको बताउनुभएको थियो ।
कोप–३१ का लागि नेपालका चार प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको विकासमा जोड दिनुभएको थियो ।
टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको अवलोकन गर्नुभएको थियो ।
उक्त भ्रमणले हिमाली क्षेत्रको जलवायु जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबीच समानता पहिचान गर्न तथा जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्न सहयोग पुगेको उहाँले बताउनुभएको थियो । ‘प्रि–कोप’ कार्यक्रमका अवसरमा जारी ‘टाकु पाकासोआ घोषणापत्र’ मा हिमनदी तथा हिमचादरको क्षयसम्बन्धी विषय समावेश भएको पनि उहाँले जानकारी दिनुभएको थियो ।
अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
अक्टोबर ८ मा अस्ट्रेलियाको मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा विदेशमन्त्री पेन्नी वोङसँग भएको उहाँको द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गर्नुभएको थियो । बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो ।
थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणासँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ ।
बैठकमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गर्नुभएको थियो ।
साथै, उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवाड्र्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राख्नुभएको थियो ।
नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भित्र्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालले बताउनुभएको थियो ।
न्यु साउथ वेल्ससँग विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव
मन्त्री खनालले अक्टोबर ८ मा अष्ट्रेलियाको सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गर्नुभएको थियो । भेटमा प्रिमियर मिन्सले नेपालको बाढी विपद्प्रति व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद दिनुभएको थियो ।
न्यु साउथ वेल्सले विगतमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले विपद् व्यवस्थापनसम्बन्धी निकायबीच अध्ययन भ्रमण तथा प्राविधिक आदानप्रदान गर्ने सम्भावनाबारे पनि विचारविमर्श गरेका थिए ।
साथै, सिड्नीको वेस्टर्न सिड्नी अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
यसै क्रममा मन्त्री खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग क्यानबेरामा भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, नेपाली विद्यार्थी तथा प्रवासी नेपाली समुदायका चासो र कोप–३१ मा नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।
उहाँले अस्ट्रेलियाको सङ्घीय संसद्मा प्रतिपक्षी दलका उपनेता एङ्गस टेलरसँग भर्चुअल संवाद गर्नुभएको थियो भने सांसद एलेक्स हकसँग सिड्नीमा भेट गरी शैक्षिक सहकार्य, नेपाली विद्यार्थीको हित र द्विपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गर्नुभएको थियो ।
पुनर्निर्माणमा प्रवासी नेपालीको सीप र ज्ञान उपयोग गर्न आग्रह
अस्ट्रेलियामा बसोबास गर्ने दुई लाखभन्दा बढी नेपाली समुदायका प्रतिनिधि, प्राज्ञ, व्यवसायी तथा विद्यार्थीसँग मन्त्री खनालले मेलबर्न, सिड्नी र क्यानबेरामा अन्तरक्रिया गर्नुभएको थियो ।
नेपालमा आएको बाढीपछि राहत तथा सहयोग जुटाउन प्रवासी नेपालीले देखाएको तत्परताको प्रशंसा गर्दै उहाँले विपद्पछिको पुनर्निर्माणमा उनीहरूको सीप, ज्ञान र प्रविधि उपयोग गर्न आह्वान गर्नुभएको थियो ।
नेपालमा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार करिब पाँच अर्ब अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने उल्लेख गर्दै उहाँले प्रवासी नेपाली समुदायलाई देशको पुनर्निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको थियो । विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा थप प्रभावकारी बनाउने र समुदायका चासो सम्बोधन गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको थियो ।
आर्थिक कूटनीतिलाई प्राथमिकता दिन निर्देशन
भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गरी सेवा प्रवाह तथा कूटनीतिक गतिविधिबारे जानकारी लिनुभएको थियो । उहाँले दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकलाई उपलब्ध गराइने राहदानी, प्रमाणीकरणलगायतका कन्सुलर सेवा छरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको थियो ।
त्यस्तै, नेपालको राष्ट्रिय हितअनुकूल आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न, अस्ट्रेलियाबाट गुणस्तरीय लगानी भित्र्याउन, द्विपक्षीय व्यापार अभिवृद्धि गर्न, पर्यटन प्रवद्र्धन गर्न र दुई देशबीच भएका सहकार्यलाई परिणाममुखी बनाउन उहाँले निर्देशन दिनुभएको थियो ।
परराष्ट्रमन्त्री खनालले समग्र भ्रमणबाट नेपालको जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय स्तरमा सशक्त बनाउन, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि थप सहयोग जुटाउन तथा व्यापार, लगानी, शिक्षा र हवाई सम्पर्कसम्बन्धी द्विपक्षीय कार्यसूची अघि बढाउन सहयोग पुगेको बताउनुभयो ।