असोज २४, २०८३ शनिबार

काठमाडौँ, २४ असोजः चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पशुपति क्षेत्रसम्मको वाग्मतीलाई स्नानयोग्य बनाउने गरी काम गर्न माग गरेका छन् ।
 
    कार्यक्रममा सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियान सुरु भएको ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरिएको स्मरण गर्दै त्यसलाई स्थायित्व दिन नसकिएको बताउनुभयो । त्यसबेला पानी परीक्षण गरेर स्नान गरिएको स्मरण पनि उहाँले गर्नुभयो । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले पनि गुह्येश्वरीमा जल आचमन गर्नुभएको थियो । 

    समितिका अध्यक्ष डा आनन्दसिंह भाटले नदीको भएको धारलाई व्यवस्थापन गरी नदी सफाइ गर्ने अभियानलाई पूर्णता दिइने बताउनुभयो । नदी क्षेत्रको रिचार्जका लागि विभिन्न स्थानमा ताल बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

     कार्यक्रममा समितिका आयोजना प्रमुख मचाकाजी महर्जन, सफाइ अभियानकर्मी डा माला खरेलले वाग्मती सफाइसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । अन्तरक्रियाअघि गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ गरिएको थियो । 

     विसं २०७० जेठ ५ गतेदेखि सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । महाअभियानबाट प्रभावित भई राजधानीमा वाग्मतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदास्थलमा सफाइ भइरहेको छ । राजधानी बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ भएको छ । हाल देशभर करिब १११ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।