असोज १६, २०८३ शुक्रबार

बागमती, १६ असोज  : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न  आग्रह गर्नुभएको छ ।

वन विज्ञान अध्ययन संस्थान हेटौँडामा आयोजित दुई दिवसीय फस्र्ट ग्राजुयट कन्फरेन्सको उद्घाटन गर्दै उहाँले युवालाई आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्न सुझाव दिनुभयो ।

वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको बताउँदै मुख्यमन्त्री थापाले वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीप प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

वनले वातावरणीय सन्तुलन, जैविक विविधता, जलाधार, माटो संरक्षण र जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो, “जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधता ह्रास र मानव–वन्यजन्तु द्वन्द्व प्रमुख चुनौतीका रूपमा रहेको छ ।”

बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नगरलाई चिनाउने गौरवको रुपमा वन विज्ञान अध्ययन संस्थान रहेको बताउनुभयो ।  वन सम्पदाको संरक्षण मात्र नभइ उपयोगतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वन उत्पादन एवम् आयआर्जनसँग जोडिनुपर्ने बताउनुभयो ।

कृषि, बन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बरालले अब बनको संरक्षण मात्र नभइ उपयोगमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका प्रमुख डोयामबहादुर केसीले सम्मेलनमा विभिन्न अध्ययन अनुसन्धान लगायतका विषयमा महत्त्वपूर्ण छलफल हुने बताउनुभयो ।

क्याम्पसका उपप्रा डा योगेन्द्र यादवले  सम्मेलनमा हाम्रा उत्पादित जनशक्तिलाई उनीहरूका ज्ञान र सीपलाई रोजगारीसँगै समाज र राष्ट्रसँग जोड्न सकिन्छ भन्ने लगायतका विषयमा महत्त्वपूर्ण छलफल हुने बताउनुभयो । सो अवसरमा हुने पूर्वविद्यार्थीहरूको सम्मेलनले यस संस्थाको महिमा र गरिमालाई अझै अघि बढाउने उहाँले बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डिन डा विक्रम मानन्धर लगायतले बनपैदावारको उपयोगमा राज्यको ध्यान जान आवश्यक भएको बताउनुभयो ।