काठमाडौँ, १६ असोज : सांसदहरूले रुग्ण अवस्थामा पुगेको नेपाल वायु सेवा निगमलाई सार्वजनिक, निजी साझेदारीको नमूनाअनुसार सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाको आजको बैठकमा निगमको अवस्था, चुनौती र भावी कार्यदिशाका बारेमा छलफल भएको थियो । छलफलमा सांसदहरूले निगम लामो समयदेखि घाटामा गएको, अहिले पनि निगमका दुईवटा जहाज ‘ग्राउन्डेड’ रहेकाले सार्वजनिक, निजी, साझेदारीको नमूनाका आधारमा चलाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसदहरूको मागमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलको पनि समर्थन थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री पौडेलले निगमसम्बन्धी नीति, कानुन पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । समितिले दिएका निर्देशन पालना गरी निगमलाई सुदृढ बनाउन लागिपर्ने प्रतिबद्धता पनि उहाँको थियो ।
समिति सभापति सुम्निमा उदासले निगमका विषयमा विस्तृत छलफल गर्न आज समय अभाव भएकाले अर्को हप्ता बैठक बस्ने जानकारी गराउनुभयो । निगमको सुधार हुनेगरी नीति एवं कानुन तर्जुमा गर्न समितिले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।
बैठकमा सांसदहरू अङ्किता ठाकुर, डा अर्जुनकुमार कार्की, प्रशान्त उप्रेती, सन्दीप राना, जगदीश खरेल (ललितपुर), बोधनारायण श्रेष्ठ, तौफिक अहमद खान, शिवशङ्कर यादव, गणेशबहादुर विश्वकर्मा, बिना गुरुङ, गणेश कार्की, श्रीधर पोखरेल, उज्ज्वकुमार झालगायतले निगमको संरचना सुधार गरिनुपर्ने, स्वायत्त संस्थाका रूपमा स्थापित गरिनुपर्ने, निगमको अवस्थाका बारेमा यसअघिका अध्ययन समितिले पेस गरेका प्रतिवेदन कार्यान्वयन गर्नमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
निगमका निमित्त महाप्रबन्धक जनक कालाखेतीले निगममा व्यावसायिक वातावरण बनाउन लागिपरेको बताउनुभएको थियो । निगममा देखिएका समस्या समाधानका लागि सरोकार भएका सबैको सहयोग आवश्यक रहेकामा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
---