असोज १६, २०८३ शुक्रबार

काठमाडौँ, १६ असोज : सांसदहरूले जलवायु प्रकोपको कारणले नेपालमा पटक–पटक ठूलो क्षति पुर्‍याएको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बिमा गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले विभिन्न समयमा आएको बाढीपहिरोलगायत विपद्का घटनाको कारणले ठूलो सङ्ख्यामा मानवीय भौतिक संरचनामा क्षति भएको उल्लेख गर्दै सरकारी संरचनाको अनिवार्य बिमा गर्न माग गर्नुभयो । उहाँले खोज, उद्धार, राहत र पुनःनिर्माणमा ठूलो बजेट लाग्ने भएकाले सो कार्यलाई अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    “सरकारी संरचनाको अझैसम्म पनि बिमा हुन नसकेको देखियो”, उहाँले भन्नुभयो, “जुनसुकै विपद्पछि पुनःनिर्माणको लागि ठूलो रकम लाग्ने भएकाले ती संरचनाको अनिवार्य बिमा गर्ने वातावरण गराउन जरुरी छ”, उहाँले भन्नुभयो । 

    नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले यस अघिको सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेअनुसारको अस्पताल निर्माण हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्यकुमारी अर्यालले स्याङ्जाको आधिखोला जलविद्युत्को डीपीआर तयार भएर स्वीकृत भए पनि अहिलेको सरकारको सो परियोजना खारेज गर्न खोजिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो जलविद्युत् आयोजनालाई शीघ्र अघि बढाउनका लागि सरकारसँग अनुरोध गर्नुभयो ।

    एमालेकै सांसद निता घतानीले विगतको ३५ वर्षमा केही नभएको भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै सरकारको गम्भीर ध्यानार्कषण गराउनुभएको छ । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सरकारले स्वदेशमा केही गरौँ भन्ने युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नुको सट्टा निरुत्साहित गर्दै आएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    श्रम संस्कृति पार्टीका सांसद आरेन राईले खोटाङलाई पूर्वको कर्णालीको रूपमा चित्रित गर्दै जिल्लाको १० वटै पालिकामा बर्खाको कारणले भत्किएको बाटो पुनःनिर्माणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पछिल्लो समय राज्यप्रति नागरिकको विश्वास कमी भएको बताउँदै राज्य नागरिकको दायित्व पूरा गर्ने विषयबाट टाढा जान नसक्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ऊर्जा सङ्कटको विषयमा  सरकारले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले केही समय अघि काठमाडौँ वरपरको अव्यवस्थित वस्ती व्यवस्थित गराउन सरकारले चालेको कदम प्रभावकारी भएको बताउनुभयो ।

    नेपाली कांग्रेसका सांसद सन्दीप रानाले यही असोज ८ देखि ११ गते आएको बाढीपहिरोले कालीगण्डकीको तटीय क्षेत्रमा सडक र पुललगायत संरचनामा ठूलो क्षति पुर्‍याएकाले तत्कालै सडक र पुललगायत संरचना पुनःनिर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    एमालेका सांसद राजेन्द्रकुमार राईले चाडपर्व आउन थाले पनि धनकुटाको जनतामा खुसीयाली नभएको बताउँदै भोटेकोशीमा गएको बाढी प्रभावितको अहिलेसम्म जानकारी नपाउँदा परिवारका सदस्यहरू मर्माहित भएको बताउनुभयो । 

    श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले नेपाल टेलिभिजनबाट  क्रिश्चियन धर्मसम्बन्धी कार्यक्रम बन्द गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    रास्वपाका सासंद भरतराज पराजुलीले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रास्वपाका सांसद वशुमाया तामाङले नेपाल वायु सेवा निगमको जहाज विदेशीमुलुकमा अलपत्र भएर यात्रुले गुणस्तरीय सेवा नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनुभयो । रास्वपाकै सांसद पारसमणि गेलालले आरोप–प्रत्यारोप र दोषारोपणमा समय खर्चिनु उपयुक्त नभएको बताउनुभयो ।

    रास्वपाका सांसद कुुुसुम महर्जनले निजी अस्पतालका बेड, क्याविन र शैयाको शूल्क निर्धारण गर्नका लागि सरकारसँग माग गर्नुभयो । रास्वपाका सांसद नरेन्द्रकुमार गुप्ताले अर्बाै लगानीमा स्थापना भएका निजी उद्योग धरासायी हुने अवस्थामा पुगेकाले सरकारले ति उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्नुपर्ने बताउनुभयो ।

    एमालेका सांसद कृपाराम रानाले ३५ वर्षे अवधिमा केही नभएको भाष्य निर्माण गर्न खोज सो अवधिमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा धेरै खालका सुधारका काम भएको बताउनुभयो । रास्वपाका सांसद पुकार बमले गैरआवासीय नेपालीलाई पैसा र भोट बैंकको लागि मात्रै हेर्न नहुने बताउँदै विभिन्न क्षेत्रमा रहेका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई पनि नेपाल ल्याउने वातावरण मिलाउनुपर्ने बताउनुभयो । 

    रास्वपाका सांसद सीताराम साह सप्तरीका विभिन्न ठाउँमा सरकारी धान खरिद केन्द्र स्थापना गर्नका लागि सरकारसँग माग गर्नुभयो । एमालेका सांसद गुरूप्रसाद बरालले बाढीले क्षतिग्रस्त भएका संरचनाको निर्माणको लागि पुनःनिर्माण प्राधिकरणको आवश्यकता औँल्याउनुभयो ।

    रास्वपाका सांसद धर्मराज केसीले दसैँमा लाखौँ नागरिक आआफ्नो घरमा फर्किने भएकाले सुरक्षित वातावरणमा फर्किने वातावरण मिलाउन सरकारसँग अनुरोध गर्नुभयो ।