गण्डकी, ३ असोज : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा दिवस मूल समारोह समितिद्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख भट्टले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सम्पूर्ण अङ्ग, राजनीतिक दल, नागरिक समाज र आम जनताबीच बलियो एकता र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सहज, सरल, पारदर्शी र गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउन संविधानले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावना व्यवहारमा अझ सुदृढ हुन आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय सङ्घीयतालाई सबल बनाउन सङ्घ सरकारबाट आवश्यक सहजीकरण र सहयोगको अपेक्षा गर्नुभयो ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले संविधान संशोधन गर्दा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले संविधानको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले जनतालाई थप अधिकार सम्पन्न गराउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संविधान लामो सङ्घर्षपछि प्राप्त भएकाले यसको रक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उक्त अवसरमा विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो ।