असोज ३, २०८३ शनिबार

काठमाडौँ, ३ असोजः जापानको आइची–नागोयामा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

नागोयास्थित मिजुहो पार्क रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, सङ्गीत तथा सहभागी राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए ।

उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापामगर र महिला कबड्डी खेलाडी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्चपास गरेका थिए । थापामगरले गत वर्ष विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्नुभएको थियो । विष्ट सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ  एसियाली खेलकुदमा कास्य पदक प्राप्त गर्ने नेपाली महिला कबड्डी टोलीकी सदस्य हुनुहुन्छ ।

यसपटक एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुनुभएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । प्रतियोगितामा कुल ४५ राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाडी सहभागी छन् ।