असोज १, २०८३ बिहिबार

काठमाडौँ, १ असोज : नेपाल साइन्स ओलम्पियाड (नेसो) ले विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम गरी आज यहाँ १४औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । ‘नेसो’को आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टिममा महिला’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरूको उपस्थिति उल्लेख्य थियो ।

    आयोजकका अनुसार नेपाल रसिया विज्ञान तथा प्रविधि सोसाइटी, सेवा नेपाल, एडिया, त्रिमूर्ति एकेडेमी र सर्भिस फर पिस नामक संस्थाहरुले कार्यक्रममा सहकार्य रहेको छ ।  

    ‘प्रेरित हुनुहोस्, सिक्नुहोस्, जडान हुनुहोस्’ भन्ने नाराका साथ आयोजित अन्तर–विद्यालय विज्ञान प्रदर्शनीमा काठमाडौँ, भक्तपुर र ललितपुरका १५ विद्यालयका विद्यार्थीले विभिन्न वैज्ञानिक परियोजना तथा ‘मोडल’ प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीमा विज्ञानप्रतिको रुचि, खोज तथा सिर्जनशीलता उजागर गरेको आयोजकले जनाएको छ ।

    सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जनार्दन लामिछानेले अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टीममा महिला’ अन्तरक्रिया कार्यक्रमले विद्यार्थीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विषयमा सिक्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

    काठमाडौँस्थित रसियन कल्चर सेन्टरकी निर्देशक अनास्तासिया कोक्लोभाले विज्ञान र प्रविधिको महत्वका बारेमा चर्चा गर्दै प्रस्तुत विज्ञान प्रदर्शनीले विद्यार्थीको सिर्जना, सीप, कला, क्षमता र अभिरुचि उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    हरेक वर्ष असोज १ गते विविध कार्यक्रमका साथ नेपालमा विज्ञान दिवस मनाइदै आएको छ ।
---