काठमाडौँ, २९ भदौः ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको हो ।
स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । सो अवसरमा सचिव खड्काले टोलीलाई उपाधिका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभयो ।
शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो । उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो । यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो ।
–––