तुलसीपुर, २९ भदौ : अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ । थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ । माघी र दसैँपछिको विशेष महत्त्व दिने पर्व हो ‘अट्वारी’ वा अग्राशन ।
पूजापछि चेलीबेटी तथा दाजुभाइलाई दिइने विशेष परिकार तथा खानेकुराको केही अंशलाई पनि अग्राशन भनिन्छ । दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्छन् । व्रत बसेका व्रतालुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने चलन छ ।
त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेली (अग्राशन) को रूपमा उपहार दिने गरिन्छ । छिटुवालाई काँधमा बोकेर त्यसरी छोरी चेली, इष्टमित्रलाई खानाका परिकार लिने गरे पनि पछिल्लो समय त्यो चलन हराउँदै गएको छ ।
“विगतमा छोरी, चेलीलाई छिटुवा (बैङ्गा) मा बोकेर लैजाने चलन थियो”, तुलसीपुर १९ निवासी शिवप्रसाद चौधरीले भन्नुभयो ।” अहिले सवारीको सहज पहुँच भएर पनि होला पछिल्लो समय त्यो चलन हराउँदै गयो ।”
अहिले छोरी चेलीलाई दिइने परिकार (अग्राशन) गाडीमा राखेर लिने गरिएको छ । विगतमा जति टाढा भए पनि बोकेर लैजाने चलन थियो । युवा पुस्ताले यो चलनलाई छोड्दै गएको थारु अगुवा हाँसु चौधरीले बताउनुभयो । “पहिले यो पर्व मनाउने गरिएको थियो”, उहाँले भन्नुभयो, “तर, पछिल्लो समय युवाले यो पर्व मनाउने चासो दिएको पाइँदैन ।”
भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई ‘अग्राशन’ पर्वको रुपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ । दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन छ । अर्को थरिका मतअनुसार भीमले थारू राजा दङ्गिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दङ्गिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।